काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानी नदिने खानेपानी मन्त्री प्रदीप यादवको राजीनामा माग गरेको छ ।
खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ गर्दै उनीहरूले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।
आज (बिहीबार) सुकुम्बासी संघले काठमाडौंको त्रिपुरेश्वरस्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै उनीहरूले यसअघि ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरूले बुधबार समेत खानेपानी कार्यालय घेराउ एवं धर्ना दिएका थिए ।
यसबीचमा पत्रकार सम्मेलन गर्दै सरकारले यथाशिघ्र खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर कार्यालय घेराउ गर्नु परेको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । ‘सरकारले कि खानेपानी दिनुपर्यो कि खानपानी मन्त्रीले राजीनामा दिनुपर्यो । असक्षम मन्त्रीले कुर्सीमा टासिएर कहिलेसम्म बस्ने हो,’ विकले भने ।
सहभागीहरूले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देऊ भन्दै केयूकेएलको कार्यालय घेराउ गरेका थिए ।
‘हामी सुकुम्बासीहरू एक होऔं, सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर, भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जाको व्यवस्था गर, विभेदकारी विद्युत महसुल दर खारेज गर, जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर, गरिब दलितलाई आवासको व्यवस्था गर, आम सुकुम्बासी संघर्ष समिति – जिन्दावाद, आम जनता जिन्दावाद – जिन्दावाद, आम जनता पार्टी – जिन्दावाद,’ लगायतका नारा उनीहरूले लगाएका छन् ।
‘आजको २१औं शताब्दीमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्यविरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आजदेखि अनिश्चितकालीन धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।
यसअघि सुकुम्बासी बस्तीमा खानेपानी उपलब्ध गराउन माग गर्दै संघले गत जेष्ठ २६ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको थियो ।
सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै जारी आन्दोलनमा आजपा नेता अमर साह, चन्द्रभुषण साहसहित सुकुम्बासी नेताहरू अमर लिम्बु, एमडी सतार, बिन्दा कोटल, रन्जुकुमारी शाह, उपेन्द्र शाह, देवेन्द्र ठाकुर, देवकुमारी साह, सुरेश शाह मिना देवी लगायतको सहभागिता रहेको छ ।




























