विवादपछि गृहमन्त्री गुरूङको स्पष्टीकरण : ‘२५ लाखको सेयर लुकाइएको होइन’

विवादपछि गृहमन्त्री गुरूङको स्पष्टीकरण : ‘२५ लाखको सेयर लुकाइएको होइन’

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानीसम्बन्धी विवादबारे औपचारिक स्पष्टीकरण दिएका छन्। उनले पछिल्ला दिनमा उठाइएको ‘२५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको’ भन्ने आरोपलाई असत्य र भ्रामक भएको बताएका छन्।

गुरूङका अनुसार उक्त विषय सेयरको वर्गीकरणसँग सम्बन्धित मात्र हो, लुकाइएको होइन। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको विवरण आफूले सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिसकेको बताए।

उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको स्पष्ट पारे। साथै, मन्त्री बन्नुभन्दा अघि गरिएको लगानीलाई अनावश्यक रूपमा विवादमा तानिएको उनको भनाइ छ।

“सेयरमा लगानी गर्नु अपराध होइन, सबै कारोबार बैंकिङ च्यानलमार्फत गरिएको छ,” गुरूङले भने।

उनका अनुसार लगानीका लागि प्रयोग गरिएको रकम ऋणमार्फत जुटाइएको हो, जसको पुष्टि २०८० भदौ २९ गतेको लिखित तमसुक र बैंक रेकर्डबाट हुने उनले दाबी गरे।

दीपक भट्टसँग साझेदारी रहेको आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर खरिद गर्नु साझेदारी नभएको स्पष्ट पारे। “यदि त्यही आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ,” उनले भने।

‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी आरोपबारे बोल्दै गुरूङले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग भएको बताए। उनले सो विषयमा प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।

गुरूङले लगानीमा जोखिम हुने भएकाले पछि भएका घटनाका आधारमा पुराना निर्णयलाई दोष दिनु उचित नहुने पनि उल्लेख गरे। कानुनी रूपमा संवेदनशील विषय भएकाले प्रतिक्रिया दिन केही ढिलाइ भएको उनले स्पष्ट पारे।

अन्त्यमा उनले पार्टीले गर्ने निर्णय मान्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “आरोप र सत्य एउटै हुँदैनन्, निर्णय प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने।