संक्रमण बढेपछि ओलीको भेटघाटमा लगाइयो रोक

संक्रमण बढेपछि ओलीको भेटघाटमा लगाइयो रोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै हाल सबै प्रकारका प्रत्यक्ष भेटघाट पूर्ण रूपमा बन्द गरिएको छ। हालै गरिएको शल्यक्रियापछि आराम गरिरहेका ओलीलाई संक्रमणको जोखिम बढेपछि चिकित्सकको सल्लाहअनुसार भेटघाटमा कडाइ गरिएको हो।

पार्टी स्रोतका अनुसार पछिल्ला केही दिनयता उनको निवासमा नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको अत्यधिक भीड बढ्न थालेपछि स्वास्थ्यमा प्रतिकूल असर पर्ने संकेत देखिएपछि यस्तो निर्णय लिनुपरेको हो। गत चैत ३० गते पित्तथैलीमा देखिएको पत्थरी हटाउन शल्यक्रिया गराएका ओली वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। उपचारका क्रममा चिकित्सकहरूले उनलाई केही समय पूर्ण आराम गर्न र भीडभाडबाट टाढा रहन सुझाव दिएका थिए। डिस्चार्जपछि उनी भक्तपुरको गुण्डुस्थित निजी निवासमा आराम गरिरहेका छन्।

तर, स्वास्थ्यलाभको कामना गर्दै दैनिकजसो नेता, कार्यकर्ता तथा सर्वसाधारण उनको निवासमा पुग्न थालेपछि संक्रमणको जोखिम बढेको चिकित्सकहरूले औंल्याएका थिए। ओलीको सचिवालयका एक पदाधिकारीका अनुसार प्रारम्भिक रूपमा सीमित भेटघाटलाई अनुमति दिइएको भए पनि त्यसले स्वास्थ्यमा असर पर्न थालेपछि पूर्ण रूपमा रोक लगाइएको हो। “बीचमा धेरै व्यक्तिहरूसँग भेटघाट भयो, जसका कारण शल्यक्रिया गरिएको भागमा इन्फेक्सनको जोखिम देखियो,” ती पदाधिकारीले भने, “डाक्टरहरूले तत्कालै भेटघाट रोक्न र पूर्ण विश्राम लिन सुझाव दिएपछि अहिले केही दिनदेखि सबै भेटघाट बन्द गरिएको छ।”

चिकित्सकहरूको भनाइ अनुसार शल्यक्रियापछि शरीरको प्रतिरोधात्मक क्षमता केही कमजोर हुने भएकाले भीडभाड, धुलो, र निरन्तरको भेटघाटले संक्रमणको सम्भावना उच्च हुन्छ। विशेषगरी पेटको भागमा गरिएको शल्यक्रियामा संक्रमण भएमा थप जटिलता उत्पन्न हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ। यही कारणले ओलीलाई केही समय पूर्ण रूपमा एकान्तमा राखेर आराम गराउनुपर्ने निष्कर्षमा चिकित्सक पुगेका हुन्। ओली हाल निवासमै आराम गरिरहे पनि उनको स्वास्थ्य अवस्थाबारे नियमित निगरानी भइरहेको छ। आवश्यक परे चिकित्सकहरूको टोलीले घरमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले पनि ओलीको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै भेटघाट रोकिएको पुष्टि गरेका छन्। उनका अनुसार मानिसहरूको अत्यधिक आवागमनले संक्रमणको जोखिम बढेपछि तत्कालका लागि यस्तो निर्णय गरिएको हो। “उहाँलाई इन्फेक्सन देखिएपछि भेटघाट रोकिएको हो,” अधिकारीले भने, “मान्छे धेरै हुँदा संक्रमणको सम्भावना बढ्ने भएकाले केही समयका लागि पूर्ण विश्राम आवश्यक देखियो।” उनले ओलीको स्वास्थ्यमा सुधार आउँदै गएपछि क्रमशः भेटघाट खुला गरिने पनि संकेत गरेका छन्। ओलीको स्वास्थ्य अवस्था र राजनीतिक गतिविधि पछिल्ला केही महिनायता एकअर्कासँग जोडिएर आएका छन्। गत चैत १४ गते सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनलाई निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो, जहाँ स्वास्थ्य समस्या देखिएपछि भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था कमजोर रहेकै कारण उनी अदालतमा उपस्थित हुन पनि सकेका थिएनन्। त्यसपछि उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले म्याद थप नगर्न आदेश दिएपछि चैत २६ गते ओली हिरासतबाट मुक्त भएका थिए। हिरासतबाट मुक्त भए पनि उनी तत्काल अस्पतालबाट डिस्चार्ज हुन सकेनन्। स्वास्थ्य परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी देखिएपछि थप उपचार आवश्यक ठहरिएको थियो।

त्यसपछि चैत ३० गते शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि मात्रै वैशाख ५ गते उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। अस्पतालबाट फर्किएपछि ओली सार्वजनिक रूपमा कुनै कार्यक्रममा सहभागी भएका छैनन्। यद्यपि, राजनीतिक रूपमा भने उनी पूर्ण रूपमा निष्क्रिय भएका छैनन्। प्रत्यक्ष भेटघाट बन्द भए पनि सामाजिक सञ्जालमार्फत आफ्ना धारणा र सन्देशहरू निरन्तर सार्वजनिक गरिरहेका छन्। हालै मात्र उनले बुद्ध जयन्ती, श्रमिक दिवस र उभौली पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्। साथै रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। यसअघि पनि उनले नयाँ वर्षको अवसरमा वैशाख १ गते शुभकामना सन्देश दिएका थिए भने हिरासतबाट मुक्त भएकै दिन अस्पतालबाट सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका थिए। यसले उनी स्वास्थ्य समस्याबीच पनि राजनीतिक रूपमा सक्रिय रहन खोजिरहेको संकेत गर्दछ।

यता पार्टीभित्र भने ओलीको नेतृत्वलाई लिएर बहस जारी छ। गत भदौमा भएको जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएको एमालेले मंसिरमा सम्पन्न ११औँ महाधिवेशनमार्फत ओलीलाई तेस्रो पटक अध्यक्षमा निर्वाचित गरेको थियो। तर, त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको छ। विशेषगरी उपाध्यक्ष विष्णु पौडेललगायतका केही नेताहरूले नैतिक जिम्मेवारीका आधारमा अध्यक्ष पद छोड्न ओलीमाथि दबाब दिँदै आएको स्रोतहरूको दाबी छ।

यद्यपि, यस विषयमा ओली स्वयंले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। हाल उनी स्वास्थ्य लाभमै केन्द्रित रहेकाले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वबारे बहस केही समयका लागि स्थगित जस्तै देखिएको छ। यसैबीच, वैशाख ९ गते बसेको एमाले सचिवालय बैठकमा ओली सहभागी हुने चर्चा भए पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित हुन सकेनन्। उक्त बैठक पार्टीका उपाध्यक्ष रामबहादुर थापा‘बादल’को अध्यक्षतामा सम्पन्न भएको थियो। यसले पनि ओलीको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन भन्ने संकेत गरेको छ। समग्रमा हेर्दा, ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि पूर्ण रूपमा सामान्य हुन अझै केही समय लाग्ने देखिन्छ।

चिकित्सकहरूले सुझाएको विश्राम, भेटघाटमा रोक र नियमित निगरानीले उनको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यता राजनीतिक रूपमा सक्रिय रहन चाहने ओलीले सामाजिक सञ्जाललाई माध्यम बनाउँदै आफ्ना सन्देशहरू प्रवाह गरिरहेका छन्। हालका लागि भने उनको स्वास्थ्य नै प्राथमिकतामा रहेको देखिन्छ। पार्टी, समर्थक र शुभेच्छुकहरूले पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै धैर्य गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।