ब्रसेल्स । जलवायु परिवर्तनका कारण तीव्र रूपमा पग्लिँदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीय रूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पृथ्वीको सबैभन्दा दुर्गम र संवेदनशील भूभाग मानिने यो महाद्वीपमा ‘अन्तिम अवसर’ को सोचले पर्यटकको चाप तीव्र गतिमा बढिरहेको छ ।
हालसम्म पर्यटक सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि वृद्धि दर असाधारण छ । महँगो लागत र लामो यात्रा समयका बाबजुद पछिल्ला वर्षहरूमा अन्टार्कटिकामा जानेहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ, जसले वैज्ञानिक र वातावरणविद्हरूलाई सतर्क बनाएको छ । सन् २०२४ मा मात्र ८० हजारभन्दा बढी पर्यटकले महाद्वीपमा अवतरण गरेका थिए भने करिब ३६ हजारले जहाजमै बसेर अवलोकन गरेका थिए । विगत तीन दशकमा पर्यटन गतिविधि दश गुणाले बढेको तथ्याङ्कले देखाउँछ र आगामी दशकमा यो सङ्ख्या तीनदेखि चार गुणासम्म बढ्न सक्ने अनुमान गरिएको छ ।
अन्टार्कटिकाको सबैभन्दा बढी भ्रमण गरिने क्षेत्र प्रायद्वीप हो । यो विश्वकै सबैभन्दा तीव्र तापक्रम वृद्धि हुने क्षेत्रमध्ये एक मानिन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सन् २००२ देखि २०२० सम्म हरेक वर्ष औसत १४९ अर्ब मेट्रिक टन बरफ पग्लिएको थियो, जसले यहाँको वातावरणीय असन्तुलन झन् तीव्र बनाएको छ ।
पर्यटनसँगै स्वास्थ्य जोखिम पनि सतहमा देखिन थालेका छन् । हालै डच क्रूज जहाज एमभी होन्डियसमा दुर्लभ हान्ता भाइरसको घातक प्रकोप देखिएपछि विश्वव्यापी ध्यान आकर्षित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार उक्त जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुइयाबाट प्रस्थान गरी अन्टार्कटिका र वरपरका टापुहरूमा पुगेको थियो । सङ्गठनले जहाजमा मानव–देखि–मानव सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार पहिलो सङ्क्रमित व्यक्ति यात्रा अघि नै सङ्क्रमित भएको हुनसक्छ ।
यसअघि पनि क्रूज जहाजहरूमा रोगको जोखिम देखिँदै आएको छ । नोरोभाइरस जस्ता सङ्क्रमणहरू सङ्कुचित स्थानमा छिटो फैलिने भएकाले जोखिम उच्च रहन्छ । सन् २०२० मा डायमन्ड प्रिन्सेस जहाजमा कोभिड–१९ फैलिँदा त्यस्तो यात्रा कति जोखिमपूर्ण हुन सक्छ भन्ने उदाहरण देखिएको थियो । हान्ता भाइरस सामान्यतया सङ्क्रमित मुसा वा घरमुसाजस्ता जनावरहरूको फोहरबाट सर्ने भए पनि यस घटनाले नयाँ चिन्ता थपेको छ ।
पर्यावरणीय दृष्टिले पनि जोखिम बढ्दो छ । प्रवासी चराहरूबाट एभियन फ्लू अन्टार्कटिकासम्म पुगेको तथ्य अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पुष्टि गरिसकेको छ । यस्तो अवस्थाले पर्यटकहरूको गतिविधि अझ कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । अन्टार्कटिका टुर अपरेटरहरूको अन्तर्राष्ट्रिय सङ्घलगायत संस्थाहरूले पर्यटकहरूका लागि कडा स्वच्छता र आचरणसम्बन्धी नियम लागू गरेका छन् । भ्रमणका क्रममा जनावरहरूबाट दूरी कायम राख्ने, जमिनमा अनावश्यक सम्पर्क नगर्ने तथा जुत्ता र उपकरणहरू पूर्ण रूपमा सफा राख्ने निर्देश दिइन्छ । यात्रु र चालक दलले जुत्ता र सामग्रीमा टाँसिन सक्ने सूक्ष्म जीव, बिउ वा फोहोर हटाउन विशेष सरसफाइ उपकरण प्रयोग गर्ने गरेका छन् ।
विज्ञहरूका अनुसार केही पर्यटक ‘अन्तिम अवसर पर्यटन’ को मनोवृत्तिका साथ त्यहाँ पुग्ने गर्छन्, जसले पग्लिँदै गएको दृश्यलाई प्रत्यक्ष हेर्ने चाहना राख्छन् । तर यही प्रवृत्तिले दीर्घकालीन रूपमा वातावरणमा थप दबाब सिर्जना गर्ने खतरा बढाएको छ । अन्टार्कटिका सन् १९५९ को अन्टार्कटिक सन्धिअनुसार शान्तिपूर्ण र वैज्ञानिक प्रयोजनका लागि मात्र प्रयोग गरिने क्षेत्र हो । सन्धिले कुनै पनि भ्रमणले वातावरण वा वैज्ञानिक तथा सौन्दर्य मूल्यमा नकारात्मक असर पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ । यद्यपि, पर्यटन तीव्र रूपमा बढ्दै जाँदा पुराना नियमहरू पर्याप्त नहुने चिन्ता पनि व्यक्त हुन थालेको छ । वातावरणविद्हरूले अन्टार्कटिकालाई विश्वका अन्य संवेदनशील पारिस्थितिकीय क्षेत्रसरह कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार अहिलेको वृद्धि दरलाई बेवास्ता गरिए भविष्यमा यो अमूल्य भूभाग गम्भीर क्षतिको सामना गर्न सक्छ ।



























