काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोली ले युएई राष्ट्रिय क्रिकेट टोली विरुद्धको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा पराजय व्यहोरेको छ । वर्षाले प्रभावित खेलमा युएईले नेपाललाई ६ विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता लिएको हो ।
टियु क्रिकेट मैदान, काठमाडौँमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सुरुवातदेखि नै अपेक्षित प्रदर्शन गर्न सकेन । पावर प्लेमै तीन महत्वपूर्ण विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो । निर्धारित २० ओभरको खेल वर्षाका कारण छोटिँदा नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
त्यसपछि डकवर्थ–लुइस पद्धति अनुसार खेललाई १० ओभरमा झारिँदा युएईले ७८ रनको लक्ष्य पाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरी ले सर्वाधिक ३२ रन बनाउँदै टोलीलाई सम्हाल्ने प्रयास गरे ।
त्यसबाहेक कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४ रन जोडे । अर्जुन साउद र नन्दन यादवले समान १३–१३ रन बनाए पनि अन्य खेलाडीबाट उल्लेखनीय योगदान आउन सकेन । मध्यक्रमले निरन्तर विकेट गुमाउँदा नेपाल ठूलो स्कोर बनाउन असफल रह्यो ।
लक्ष्य पछ्याउने क्रममा युएईले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गर्यो। युएईका कप्तान मोहम्मद वासिम ले मात्र १५ बलमा ३३ रन बनाउँदै टोलीलाई सहज जिततर्फ डोर्याए । युएईले ८.५ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बलिङतर्फ युएईका मोहम्मद जुहैब ले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने जुनैद सिद्धिकीले २ विकेट लिए । हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिएर नेपालको ब्याटिङ लाइनअपलाई दबाबमा राखे ।
यो जितसँगै दुई खेलको शृङ्खलामा युएई १–० ले अघि बढेको छ । अब शृङ्खलाको दोस्रो तथा अन्तिम खेल भोलि हुने तालिका रहेको छ, जहाँ नेपाल शृङ्खला बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























