काठमाडौं । नेपाल ए क्रिकेट टोली ले ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्धको एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा ७० रनको हार व्यहोरेको छ।
बुधबार काठमाडौंस्थित माथिल्लो मुलपानी क्रिकेट मैदान मा भएको खेलमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टोली ४४.४ ओभरमा २१० रनमै अलआउट भयो।
नेपालका लागि इशान पाण्डे ले सर्वाधिक ५२ रन बनाए भने कप्तान अनिलकुमार साह ले ५० रनको योगदान दिए। तृतराज दास ले ३१ रन बनाउँदा देव खनाल ले ४३ रन जोडे।
नेपालले पहिलो विकेटका लागि राम्रो सुरुवात गर्दै अनिल र तृतराजबीच ८४ रनको साझेदारी गरेको थियो। तर मध्यक्रम कमजोर हुँदा टोली दबाबमा पर्यो। एक समय १८८/३ को अवस्थामा रहेको नेपालले थप २२ रन जोड्दा ७ विकेट गुमाउँदै खराब अन्त्य गर्यो।
ओमानका बलरहरूमा शकील अहमद ले ३ विकेट लिए भने नदीम खान र मुजिबुर अली ले समान २–२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनाएको थियो। ओमानका लागि मुजिबुर अली ले सर्वाधिक ७२ रन बनाए भने जतिन्दर सिंह ले ५८ रनको योगदान गरे। हैदर दाफेदार ले ४६ रन जोडे।
नेपालका बलरहरूमा आकाश चन्द ले ४ विकेट लिए भने सन्तोष यादव ले २ विकेट हात पारे। अन्य विकेट शाहब आलम, शेर मल्ल र रशिद खान ले समान १–१ लिए । नेपाल ‘ए’ र ओमानबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ। त्यसपछि नेपाल ‘ए’ टोलीले स्कटल्यान्ड र अमेरिकासँग पनि एकदिवसीय खेलहरू खेल्ने कार्यक्रम छ।
यसैबीच, शनिबारदेखि काठमाडौंको त्रिवि क्रिकेट मैदान मा नेपाल, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला सुरू हुने तालिका रहेको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



























