काठमाडौं । आइसिसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गत रुवान्डामा भइरहेको प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ।
बुधबार किगालीस्थित गहंगा क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले घरेलु टोली रुवान्डालाई २ विकेटले पराजित गर्यो। यस जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। समान अंक भए पनि नेट रनरेटका आधारमा रुवान्डा शीर्ष स्थानमा, नेपाल दोस्रो र इटली तेस्रो स्थानमा छन्।
रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि ओपनर सम्झना खड्का ले उत्कृष्ट ४८ रन बनाउँदै टोलीलाई मजबुत आधार दिइन्। उनले ४२ बलमा ७ चौका प्रहार गरिन्।
यस्तै, उपकप्तान पूजा महतो ले १३ रन तथा विन्दु रावल ले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले सुरुवातमा सहज जिततर्फ अग्रसर देखिए पनि १३औं ओभरमा सम्झना खड्का आउट भएपछि टोली दबाबमा आयो। एक समय ४५ बलमा १५ रन मात्र आवश्यक हुँदा ९ विकेट सुरक्षित थियो, तर लगातार विकेट गुमाउँदा अवस्था १९ ओभरमा ८६/८ पुगेको थियो। अन्ततः नवौँ नम्बरमा ब्याटिङ गरेकी रचना चौधरी ले अविजित ९ रन बनाएर नेपाललाई जित दिलाइन्। रुवान्डाका लागि जिओभानिस उवासे ले ३ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डा १९.४ ओभरमा ८८ रनमै अलआउट भयो। रुवान्डाका लागि एलिस इकुज्वेले सर्वाधिक १७ रन बनाइन्। नेपालका बलरहरूमा रचना चौधरीले ३ विकेट लिइन् भने कविता कुँवर र पूजा महतोले समान २–२ विकेट हात पारे। मनिषा उपाध्याय र रिया शर्माले १–१ विकेट लिए।
उत्कृष्ट प्रदर्शनका लागि सम्झना खड्का ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। नेपालले अब आफ्नो चौथो खेल शुक्रबार भानुआटुसँग खेल्नेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



























