काठमाडौँ । पीएम कप भलिबल लिग अन्तर्गत जारी रेडबुल दशौँ संस्करणको महिला तथा पुरुष भलिबल लिग २०८३ मा विभागीय टोलीहरूको प्रदर्शन मिश्रित देखिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भइरहेको प्रतियोगिताको सुरुवाती चरणमै प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ।
पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेका छन् भने सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पराजय भोग्नुपरेको छ। शुक्रबार भएको खेलमा पुलिसले कोशी प्रदेश भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै प्रभावशाली सुरुवात गर्यो। पहिलो सेट २५–२३ ले जितेको पुलिसले दोस्रो सेट २५–२२ ले गुमाए पनि त्यसपछि लगातार दुई सेट २५–२० र २५–२२ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
त्यसैगरी त्रिभुवन आर्मी क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्यो। आर्मीले २५–१९, २०–२५, २५–१४ र २५–१५ को सेटमा जित निकाल्दै उत्कृष्ट लय कायम राखेको छ। यससँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ।
तर एपीएफ क्लबका लागि दिन सुखद रहन सकेन। पुरुषतर्फ एपीएफ क्लब रुकुम पश्चिम भलिबल क्लबसँग सोझो सेटमा २५–१४, २५–२१, २५–१५ ले पराजित भयो। रुकुम पश्चिम टोलीमा समावेश विदेशी खेलाडीहरूको प्रदर्शन प्रभावशाली देखियो।
महिलातर्फ पनि एपीएफ क्लबले हार बेहोर्नुपर्यो। एपीएफ बुटवल एभरेष्ट भलिबल क्लबसँग पराजित हुँदा न्यु डायमण्ड युवा खेलकुद क्लबले सुदूरपश्चिम भलिबल क्लबमाथि एकपक्षीय जित निकाल्यो।
यसैबीच, महिला प्रतिस्पर्धामा नेपाल पुलिस क्लब र न्यु डायमण्ड युवा खेलकुद क्लबले लगातार दोस्रो जित निकाल्दै उपाधि दाबेदारी बलियो बनाएका छन्। पुलिसले सुदूरपश्चिमलाई २५–१२, २५–१६, २५–१८ ले हरायो भने न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई २८–२६, २६–२४, २५–१४ ले पराजित गर्यो।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भइरहेको यस लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ। ९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४५ खेल खेलिनेछन्। सिंगल राउण्ड रोबिनपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताका विजेता पुरुष र महिला दुवै टोलीले समान १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। आगामी दिनहरूमा हुने प्रतिस्पर्धाले लिग अझै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























