काठमाडौं । आइसिसी महिला टी–२० च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले शानदार प्रदर्शन गर्दै जित हात पारेको छ। मंगलबार किगालीमा भएको खेलमा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थितिलाई अझ मजबुत बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रनको योगफल तयार गरेको थियो। सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाए पनि कप्तान इन्दु बर्माको संयमित ब्याटिङले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएको हो। इन्दु बर्माले ४५ बलमा ४ चौका प्रहार गर्दै अविजित ३३ रनको महत्वपूर्ण इनिङ खेलिन्। मध्यक्रममा कविता कुँवरले २४ रनको योगदान दिइन् भने रुबिना क्षेत्रीले ११ रन बनाइन्। अन्य ब्याटर भने ठूला इनिङ खेल्न असफल रहे र दोहोरो अंकमा पुग्न सकेनन्।
रुवान्डाका बलरहरूले प्रभावशाली प्रदर्शन गरेका थिए। हेनरिएट इसिम्वेले ३ विकेट लिएर नेपाललाई दबाबमा राखिन् भने मेरी बिमेनिमानाले २ विकेट हात पारिन्। बेलिसे मुरेक्टेट र रोजिन इरेराले समान १–१ विकेट लिए।
१०४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली रुवान्डाको सुरुवात नै कमजोर रह्यो। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको रुवान्डा १७.४ ओभरमै सबै विकेट गुमाएर मात्र ६५ रनमा समेटियो। टोलीका लागि कप्तान मेरी बिमेनिमानाले सर्वाधिक १९ रन बनाइन् भने जियोभानिस युवासेले १२ रन जोडिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको बलिङ आक्रमण भने अत्यन्तै सशक्त रह्यो। मनीषा उपाध्यायले उत्कृष्ट स्पेल गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ३ विकेट लिएकी थिइन्, जसमा १ मेडन ओभर पनि समावेश थियो। कविता कुँवर, रचना चौधरी र रिया शर्माले पनि समान २–२ विकेट लिएर रुवान्डाको ब्याटिङ क्रम ध्वस्त पारे।
यस जितसँगै नेपालले प्रतियोगितामा ६ खेलमा ३ जित दर्ता गरेको छ। नेपालले यसअघि इटाली र रुवान्डाविरुद्धका खेलमा सफलता हासिल गरेको थियो भने अमेरिका र भानुआटुसँगका खेलमा पराजय बेहोरेको थियो।
हालको अंक तालिकाअनुसार नेपाल ६ अंकसहित तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाको १० अंक छ भने रुवान्डा ८ अंकसहित दोस्रो स्थानमा छ। इटाली ४ अंकसहित चौथो र भानुआटु २ अंकसहित पाँचौँ स्थानमा रहेका छन्।
नेपालले अब इटाली र भानुआटुविरुद्धका महत्वपूर्ण खेल खेल्न बाँकी छ। लगातार तेस्रो जितसँगै नेपालको सेमिफाइनल सम्भावना अझ बलियो बनेको छ र टोलीको आत्मविश्वास उच्च बन्दै गएको देखिन्छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



























