काठमाडौं । रेडबुल दशौं प्रधानमन्त्री कप एनभीए भलिबल लिग २०८३ अन्तर्गत महिला तथा पुरुष दुवै तर्फका उपाधि विजेता टुंगिएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ रुकुम पश्चिम भलिबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका हुन् ।
महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमन्ड युथ स्पोट्र्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार राम्रो प्रदर्शनलाई कायम राख्दै उपाधि रक्षा गर्न सफल भयो। खेलको पहिलो सेट २५–२१ ले जितेको पुलिसले दोस्रो सेट १७–२५ ले गुमाएको थियो।
तर त्यसपछि उसले शानदार पुनरागमन गर्दै तेस्रो सेट २५–१३ र चौथो सेट २५–१९ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो । लिग चरणमा न्यु डायमन्डसँग बेहोरेको हारको बदला पुलिसले फाइनलमा लिएको हो । यस जितसँगै पुलिसले चौथो पटक उपाधि जित्दै आफ्नो वर्चस्व कायम राखेको छ ।
पुरुषतर्फको प्रतिस्पर्धामा रुकुम पश्चिम भलिबल क्लबले साविक विजेता हेल्प नेपाल क्लबलाई सोझो ३–० को सेटमा हराउँदै पहिलो पटक उपाधि जित्न सफल भयो। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा रुकुमले पहिलो सेट २९–२७, दोस्रो सेट २५–२१ र तेस्रो सेट ३२–३० ले जित्दै ऐतिहासिक सफलता हात पारेको हो । रुकुमले पनि लिग चरणमा बेहोरेको हारको बदला फाइनलमा लिँदै उपाधि जितेको हो ।
उपाधिसँगै दुवै विजेता टोली—रुकुम पश्चिम (पुरुष) र नेपाल पुलिस क्लब (महिला)—ले समान १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेता टोलीहरू हेल्प नेपाल (पुरुष) र न्यु डायमन्ड (महिला) ले ५ लाख रुपैयाँ पाएका छन् ।
यस प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा वैशाख १० गतेदेखि सुरु भएको यस लिगले देशभरका भलिबल खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ ।
यस लिगका विजेता टोलीहरूले अब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भलिबलको पहिचान अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























