महिला प्रहरीलाई यौन दुर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित 

महिला प्रहरीलाई यौन दुर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित 

काठमाडौं । महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ । 

एसएसपी पाललाई निलम्बन गरिएको गृहको पत्र शुक्रबार बिहान प्रहरी प्रधान कार्यालय पुगेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी दिए । 

एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । उनलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिए ।

‘गृहमन्त्रालयले निर्णय गरेको पत्र प्राप्त भइसकेको छ, अब सम्बन्धित निकायमा पठाउँछौं,ʼउनले भने ।

पालविरुद्धको यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्न पाललाई प्रहरी प्रधान कार्यालय बोलाइएको पनि डिआइजी कडायतले जानकारी दिए । 

पालले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

निवेदन दिइसकेपछि अनुसन्धानको क्रममा पाललाई दुर्व्यवहार गरेको खुलेकाले निलम्बन गरिएको प्रवक्ता कडायतले बताए ।