कीर्ते नागरिकता प्रकरण: नातिलाई नागरिकता दिलाइदिने हजुरबुवासहित ८ जना पक्राउ, वडाअध्यक्ष र सचिव फरार

कीर्ते नागरिकता प्रकरण: नातिलाई नागरिकता दिलाइदिने हजुरबुवासहित ८ जना पक्राउ, वडाअध्यक्ष र सचिव फरार

काठमाडौं । दाङमा कीर्तेगरी नागरिकता बनाएको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्न‍ेहरूमा राजपुर गाउँपालिका- ५ सिमलखुटीका ज्ञान बहादुर विक, जाेगिनी विक(हजुरआमा), विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधीमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् ।

ज्ञानबहादुरले आफ्नो नाति (विवेक) लाई  छाेराे बनाएर कीर्ते गरी नागरिकता बनाएकाे जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमले जानकारी दिए ।

कीर्ते गरी नागरिकता बनाइदिएकाे उजुरी  जिल्ला प्रशासन कार्यालय, दाङमा परेपछि प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरेको हो ।

ज्ञानबहादुरले गत वैशाख २७ गते नातिलाई छोरा बनाइ जन्मदर्ता बनाएकाे प्रहरीकाे भनाइ छ । साेही जन्मदर्ताको आधारमा वडाले नागरिकताको लागि सिफारिससमेत दिएको थियो।

सिफारिसपश्चात् वैशाख २८ गते इलाका प्रशासन कार्यालय, लमहीबाट विवेकले नागरिकता प्राप्त गरेका थिए ।

कीर्ते प्रकरणमा ज्ञानबहादुर जेठ २५ गते पक्राउ परेका थिए भने विवेक २८ मा पक्राउ परे। अन्य भने जेठ ३१ गते पक्राउ परेकाे प्रहरीकाे भनाइ छ ।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

राजपुर गाउँपालिका ५ का वडाअध्यक्ष टंकबहादुर विष्ट र वडा सचिव भने फरार रहेका छन् ।