काठमाडौं । कृषि विकास बैंकले बैंकका ऋणीलाई सात प्रतिशत ब्याज छुट दिने भएको छ ।
बैंकबाट कर्जा लिई कारोबार गरिरहेका ऋणी ग्राहकलाई असार मसान्तसम्म बुझाउनुपर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरे भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने भएको छ । बैंकले ऋणीलाई यसबारे बुझ्न आफूले कारोबार गरिरहेको बैंक शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकबाट कर्जा लिई कारोबार गरिरहेका ऋणीको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेका बेला बैंकले उपलब्ध गराएको छुट सुविधाबाट थोरै भए पनि राहत पाउन् भन्ने उद्देश्यले ब्याज छुट दिइएको हो ।
विशेषगरी दुर्गम तथा ग्रामीण इलाकामा बसोबास गर्ने र कृषि पेसामा आबद्ध परिवारमा बैंकको कर्जा बढी लगानी रहेकाले त्यस्ता ग्राहकले छुट सुविधाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।




























