पूर्ण प्रेस स्वतन्त्रता खोज्दै नेपाली पत्रकार

पूर्ण प्रेस स्वतन्त्रता खोज्दै नेपाली पत्रकार

लोकतन्त्रको मेरुदण्ड मानिने प्रेस स्वतन्त्रता पत्रकारलाई मात्र चाहिएको होइन, आम नागरिकको सुसूचित हुन पाउने मौलिक हकको ग्यारेन्टी गर्ने उपकरण हो । नेपालको संविधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ उल्लेख हुनु आफैँमा गौरवको विषय भए पनि व्यवहारमा यसको कार्यान्वयन सधैँ संकुचित बनिरहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस ३ मेको अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले व्यक्त गरेको चिन्ताले नेपाली सञ्चार क्षेत्रको वर्तमान र भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ । प्रेस स्वतन्त्रता दिवसको इतिहास सन् १९९१ को विन्डहोक घोषणापत्रसँग जोडिएको छ, जसले स्वतन्त्र, बहुलवादी र स्वतन्त्र प्रेसको वकालत गरेको थियो । तर नेपालमा लोकतान्त्रिक संविधान लागू भएको १ दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रताको अवस्था उतारचढावपूर्ण छ ।

राजनीतिक सत्ता परिवर्तन वा सडक संघर्षका बेला प्रेसमाथि प्रत्यक्ष प्रभाव पर्दै आएको छ । राज्यका निकायहरूबाटै हुने संकुचन, विज्ञापन वितरणमा गरिने विभेद र अभिव्यक्ति स्वतन्त्रतामाथि लगाउन खोजिएका अंकुशहरूले नेपालमा पूर्ण प्रेस स्वतन्त्रता अझै पनि सपना जस्तै बनेको छ ।

नेपाली पत्रकारिता यतिबेला बहुआयामिक चुनौतीको सामना गरिरहेको छ । पत्रकारविरुद्ध हुने अपराध, धम्की र आक्रमणका घटनामा संलग्नहरू राजनीतिक संरक्षणका कारण कानुनी दायरामा नआउनुले पत्रकारको भौतिक सुरक्षालाई जोखिममा पारेको छ । जबसम्म पत्रकारले सुरक्षित महसूस गर्दैन, तबसम्म निर्भिकताका साथ सत्यतथ्य पस्किन सक्दैन । भौतिक सुरक्षासँगै पेशागत सुरक्षा अर्को जटिल विषय बनेको छ । सञ्चारमाध्यमको खस्किँदो आर्थिक अवस्थाले श्रमजीवी पत्रकारहरू मर्कामा परेका छन्, जसले अन्ततः पत्रकारिताको गुणस्तर र निष्पक्षतालाई कमजोर बनाउँछ ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रता भने पनि सरकारले ल्याउने विभिन्न कानुन र नियमावली र निर्णयहरूले घुमाउरो पाराले प्रेसलाई नियन्त्रण गर्न खोजेको पाइन्छ । सरकारी विज्ञापनमा गरिने विभेदपूर्ण व्यवहार र लोककल्याणकारी विज्ञापनमा गरिएको संकुचनले स्वतन्त्र सञ्चारमाध्यमलाई आर्थिक रूपमा गलाएर आफ्नो अनुकूल बनाउने अघोषित अंकुशको काम गरिरहेको छ । विज्ञापनलाई व्यापार वा सहयोगका रूपमा भन्दा पनि प्रेसलाई नियन्त्रण गर्ने अस्त्रका रूपमा प्रयोग गरिनु लोकतन्त्रका लागि घातक छ ।

नेपालमा दिगो शान्ति र वास्तविक विकास चाहने हो भने राज्यले प्रेसलाई आफ्नो ‘वाचडग’का रूपमा स्वीकार गर्नुपर्छ । पत्रकारिता क्षेत्रले पनि मर्यादा र आचारसंहिताभित्र रहेर उत्तरदायी पत्रकारिताको अभ्यास गर्नु आवश्यक छ । तर उत्तरदायित्वको नाममा राज्यले प्रेसको घाँटी निमोठ्ने प्रयास गर्नु भनेको लोकतन्त्रको हत्या गर्नु सरह हो ।

नेपालमा जस्तोसुकै कठिन कालखण्डमा पनि प्रेस जगतले राज्यका अंगहरूबाट हुने नियन्त्रण र संकुचनका प्रयासलाई सशक्त प्रतिवाद गर्दै आएको छ । चाहे त्यो निरंकुश पञ्चायत होस् वा संकटकालको कठिन समय, नेपाली पत्रकारहरूले लोकतन्त्र र नागरिक अधिकारका लागि अग्रमोर्चामा उभिएर लडेका छन् । आजको सन्दर्भमा पनि यदि राज्य वा अन्य कुनै शक्तिले प्रेस स्वतन्त्रतामाथि धावा बोल्छ भने त्यसको प्रतिवाद गर्न पत्रकार महासंघ र नागरिक समाज एकजुट हुनुको विकल्प छैन ।

पूर्ण प्रेस स्वतन्त्रता केवल संविधानको कागजमा सीमित रहनु हुँदैन । यसलाई पत्रकारको कलम र नागरिकको आवाजमा प्रतिविम्बित हुन दिनुपर्छ । राज्यले प्रेस स्वतन्त्रतालाई चुनौती होइन, लोकतन्त्रको सौन्दर्य र सुधारको अवसरका रूपमा लिनुपर्छ । जबसम्म पत्रकारहरू बिना त्रास, बिना लोभ र बिना विभेद कलम चलाउन पाउने वातावरण बन्दैन, तबसम्म पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति अधुरै रहनेछ । नेपाली पत्रकारले खोजेको पूर्ण प्रेस स्वतन्त्रता भनेकै भयमुक्त वातावरणमा तथ्यपूर्ण सूचना प्रवाह गर्न पाउने अधिकार हो ।

मिति २०८३ वैसाख २२ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।