कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि

काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। निर्वाचनपछि पार्टी एकताबद्ध भएर समीक्षा र पुनर्गठनतर्फ लाग्ने अपेक्षा गरिए पनि नेतृत्व र इतर समूहबीच समानान्तर गतिविधि सुरु भएपछि कांग्रेसको आन्तरिक राजनीति थप जटिल बनेको देखिएको छ।

निर्वाचन आयोगले मान्यता दिएको र सर्वोच्च अदालतले नरोकेको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अहिले चुनावी समीक्षा र आगामी कार्यदिशा तय गर्ने काममा जुटेको छ । तर, पूर्वसंस्थापन पक्षका नेता शेरबहादुर देउवा र डा. शेखर कोइराला निकट समूह भने अलग रूपमा छलफल र रणनीति निर्माणमा सक्रिय भएका छन्। यसले पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिएको छ।

पछिल्लो दुई दिन पार्टीको केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशनबाट आएको नेतृत्वले केन्द्रीय समिति बैठकमार्फत चुनावी समीक्षा, १५औँ महाधिवेशनको कार्यतालिका तथा भावी रणनीतिबारे छलफल गर्यो । तर, यही समयमा इतर देउवा–शेखर समूह भने छुट्टै छलफलमा जुट्नुले पार्टीभित्रको दूरी अझै बढ्दै गएको संकेत दिएको छ। आइतबार बिहान पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा धुम्बाराहीस्थित एक होटलमा इतरपक्षका शीर्ष नेताहरूको बैठक बसेको थियो। उक्त बैठकमा देउवा–शेखर समूहका प्रभावशाली नेताहरू सहभागी भएका थिए। सहभागी एक नेताका अनुसार चुनावको मुखमा देखिएको आन्तरिक तनावकै कारण अपेक्षित परिणाम नआएको निष्कर्षसहित उनीहरू छलफलमा जुटेका हुन्।

ती नेताले भने, “चुनावअघि पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनले नतिजामा असर पार्यो। त्यसैले हामीबीच छलफल आवश्यक ठानेर बसेका हौं। यसलाई पूर्ण रूपमा समानान्तर गतिविधि भन्न मिल्दैन, तर पहिले एउटै धारमा रहेका नेताहरूबीच छुट्टै छलफल हुनु आफैंमा सन्देशपूर्ण छ।” सानेपा बैठकमा भने विशेष महाधिवेशनबाट आएको नेतृत्वले चुनावी हारका कारणहरू पहिचान गर्दै संगठन सुदृढीकरणमा जोड दिएको छ । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले चुनावी पराजयपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए । सबै नेताहरुले उनको राजीनामा स्वीकार्न नसकिने बताए ।

यता, देउवा समूह भने सभापति थापालाई थप रक्षात्मक बनाउने रणनीतिमा देखिएको छ। उनीहरूले चुनावी हारको मुख्य कारण विशेष महाधिवेशनबाट आएको नेतृत्व र त्यसको प्रक्रियालाई मानेका छन्। यसैले आवश्यक परे केन्द्रीय समितिको बैठक नै अलग रूपमा बोलाउने तयारी समेत भइरहेका नेताहरूले बताएका छन्। छलफलमा सहभागी अर्का एक नेताले भने, “चुनावपछि समीक्षा गर्नु जरुरी थियो। पूर्णबहादुर खड्काले बोलाउनुभएको बैठकमा डा. शेखर कोइरालादेखि पूर्वपदाधिकारीहरू सहभागी हुनुभयो। अब सभापति देउवा विदेशबाट फर्किएपछि थप औपचारिक छलफल गर्ने तयारी छ।” उनका अनुसार विशेष महाधिवेशनकै कारण कांग्रेसले चुनावमा हार व्यहोरेको भन्ने धारणा इतरपक्षमा बलियो बन्दै गएको छ।

उक्त बैठकमा प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार लगायतका नेताहरू सहभागी थिए । उनीहरूबीच अबको बैठक केन्द्रीय समितिको नाममा बोलाउने कि पूर्वसंस्थापन समूहको नाममा बोलाउने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन। इतरपक्षले अदालतमा विचाराधीन रहेको पार्टीको आधिकारिकताको मुद्दामा आफूहरूको पक्षमा फैसला आउने विश्वाससमेत व्यक्त गरेको छ। यही आशामा उनीहरू चुनावपछि अझ सक्रिय रूपमा छलफल र शक्ति संकलनमा लागेको बुझिएको छ। यसले पार्टीभित्रको शक्ति सन्तुलन अझ पेचिलो बन्ने संकेत दिएको छ। पार्टीभित्रको तनाव बढिरहेका बेला भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले समेत असन्तुष्टि व्यक्त गर्दै पार्टीबाट अलग हुनेसम्मको चेतावनी दिएको छ। नेविसंघले पार्टीका सिद्धान्तहरू मान्ने तर प्रत्यक्ष राजनीतिक नियन्त्रणबाट बाहिर रहने विकल्पबारे दबाब सिर्जना गरिरहेको छ, जसले कांग्रेसको संगठनात्मक संरचनामै असर पार्न सक्ने संकेत देखिएको छ।

एक नेताका अनुसार अहिले सबैभन्दा ठूलो अन्योल भने बैठकको स्वरूपबारे नै छ । “अदालतमा मुद्दा विचाराधीन छ। फैसला हाम्रो पक्षमा आउन सक्छ। यस्तो अवस्थामा केन्द्रीय समितिको नाममा बैठक बोलाउने कि पूर्वसंस्थापन भनेर भन्ने भन्नेमा अझै सहमति छैन,” उनले भने, “विशेष पक्षले लिने निर्णय र १५औँ महाधिवेशनको कार्यतालिका हेरेपछि मात्रै अगाडि बढ्ने भन्ने मत पनि छ।” यता, शेखर कोइराला पक्षले भने आइतबारको बैठकबारे औपचारिक जानकारी नभएको दाबी गरेको छ। शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, “चुनावपछि डा. साहेब आन्तरिक छलफलमा हुनुहुन्छ। तर समूहगत रूपमा भएको भनिएको बैठकबारे हामीलाई जानकारी छैन।”

पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्व चयन भएपछि कांग्रेस सोही नेतृत्वमा चुनावमा गएको थियो। निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र शेखर पक्षले समेत थापाकै हस्ताक्षरमा चुनाव लडेका थिए। तर, अपेक्षा विपरीत कांग्रेसले प्रत्यक्षतर्फ मात्र १८ सिट जित्न सक्यो। सभापति थापासहित अधिकांश प्रभावशाली नेताहरू पराजित भए। विशेष पक्षले भने चुनावी पराजयका २७ वटा कारण पहिचान गरेको दाबी गरेको छ। उनीहरूले पटक–पटक गठबन्धन गर्नु, एमालेसँग सरकार बनाउनु, सरकारमा रहँदा प्रभावकारी काम गर्न नसक्नु, युवाको भावना बुझ्न नसक्नु लगायतका कारणलाई हारको मुख्य आधार मानेका छन्।

उता, सानेपा बैठकले भने आन्तरिक अन्तर्घातकै कारण २१ सिट गुमाउनुपरेको निष्कर्ष निकालेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले करिब ५ हजार मतान्तरभित्र भएका हारहरूमा अन्तर्घात प्रमुख कारण रहेको बताएका छन्। अर्को समूहका नेताहरूले पनि अन्तर्घातलाई नै हारको मुख्य कारण मानेका छन्। बर्दिया–१ बाट उम्मेदवार बनेका नेता सञ्जय गौतमले पनि आन्तरिक कमजोरीकै कारण पराजय व्यहोर्नुपरेको बताएका छन्। उनका अनुसार बाह्य कारणभन्दा पार्टीभित्रकै असन्तुलन र असहयोगले चुनावी परिणाममा प्रत्यक्ष असर पारेको हो।

बर्दिया–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरसिंह थारू ४९ हजार ६३१ मतसहित विजयी भएका थिए भने एमालेका सालिकराम अधिकारी १४ हजार ६४३ मतान्तरले दोस्रो स्थानमा रहेका थिए। कांग्रेसका गौतम भने १२ हजार ७२२ मतसहित तेस्रो स्थानमा सीमित भएका थिए। गौतम शेखर समूहका उम्मेदवार थिए। गौतमले भने, “म अझै निर्वाचन क्षेत्रमै छु। यसपटक हार्नुको मुख्य कारण आन्तरिक समस्या नै हो। काठमाडौंबाट बैठकका लागि बोलाइएको छ, तर अहिलेसम्म गएको छैन।” उनको भनाइले पनि पार्टीभित्रको असन्तोष अझै समाधान नभएको स्पष्ट पार्छ। समग्रमा हेर्दा चुनावी हारपछि कांग्रेसभित्र देखिएको शक्ति संघर्ष, समानान्तर गतिविधि र आरोप–प्रत्यारोपले पार्टीलाई एकताबद्ध बनाउन चुनौती थपिएको छ।

गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा अस्वीकार गर्न सात आधार लिएको छ । दुई दिनसम्म सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकारका कारण प्रस्तुत गरेको हो । उक्त सात कारणमा आधारित रहँदै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेस गरेको सभापति थापाको राजीनामा अस्वीकृत भएको हो । पहिलो आधारमा निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको बताइएको छ ।

यस्तै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको कांग्रेसको ठहर छ । राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले पनि कांग्रेस उक्त निर्णयमा पुगेको बताइएको छ । सभापति थापाको राजीनामा स्वेच्छिक र नैतिक भएकाले अस्वीकार गरिएको कांग्रेसको भनाइ छ । निर्वाचनमा पराजय सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टीमा नेतृत्वको स्थायित्व आवश्यक भएकाले थापाको राजीनामा स्वीकार नगरिएको विज्ञप्तिमा उल्लेख छ । विशेष महाधिवेशनपछि कार्यान्वयनमा आएको कांग्रेस रूपान्तरण र पुस्तान्तरणको नेतृत्व थापाले नै गर्नुपर्ने आवश्यकता महशुस भएकाले पार्टीपंक्तिले राजीनामा स्वीकार नगरेको बताइएको छ ।

पार्टीलाई १५ औँ महाधिवेशनमा थापाकै नेतृत्वमा केन्द्रित गराउनुपर्ने भएकाले उनको निर्णयलाई स्वीकार नगरिएको उल्लेख गरिएको छ । यस्तै, सिंगो केन्द्रीय कार्यसमिति थापाको राजीनामाको विपक्षमा रहेको जानकारी कांग्रेसले गराएको छ । कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ ९१० वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ ।’

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।