आईसीसी विश्वकप लिग–२ : नेपालको यूएर्ईमाथि ३७ रनको जित

आईसीसी विश्वकप लिग–२ : नेपालको यूएर्ईमाथि ३७ रनको जित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी घरेलु त्रिकोणात्मक सिरिजमा नेपालले शानदार जितसहित सुरुवात गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएर्ईलाई ३७ रनले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २०० रन बनाएको थियो। नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रमका ब्याटरहरूले जिम्मेवारीपूर्वक खेल्दा सम्मानजनक योगफल तयार भयो। टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ९० बलमा ७५ रन बनाए। उनले इनिङ्स सम्हाल्दै नेपाललाई प्रतिस्पर्धात्मक स्थितिमा पुर्‍याए।

त्यस्तै कुशल भुर्तेलले २४ रन जोड्दा करण केसीले २२ रनको महत्वपूर्ण योगदान दिए। बसिर अहमदले २० रन बनाए भने आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोडे। अन्य ब्याटरले भने ठूलो योगदान दिन सकेनन्।

यूएर्ईका बलरहरू पनि प्रभावशाली देखिए। अजय कुमार र जुनेद सिद्दिकीले समान ३–३ विकेट लिए भने तनवीरले २ विकेट हात पारे। हैदर अली र मोहम्मद शाहदादले एक–एक विकेट लिए।

२०१ रनको लक्ष्य पछ्याएको युएईले सुरुवातदेखि नै दबाब झेल्नुपर्‍यो। नेपालको आक्रामक बलिङका कारण युएई नियमित अन्तरालमा विकेट गुमाउँदै गयो र अन्ततः ४८.२ ओभरमा १६३ रनमै समेटियो।

यूएर्ईका लागि हर्प्रित सिंहले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वासिमले ३४ रन जोडे। आकाशदीप नाथले ३० रनको योगदान दिए पनि अन्य ब्याटरहरू टिक्न सकेनन्।

नेपालको जितमा बलिङ प्रमुख रह्यो। करण केसी खेलका नायक बने, उनले ९.२ ओभरमा मात्र १९ रन खर्चेर ४ विकेट लिए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए।

यो जितसँगै नेपालले लिग–२ मा २१ खेलबाट १४ अंक पुर्‍याएको छ र अंक तालिकामा सातौँ स्थानमा उक्लिएको छ। युएई भने २१ खेलमा १० अंकसहित पछाडि रहेको छ।

नेपालका लागि यो जित निकै महत्वपूर्ण मानिएको छ, किनभने लगातार खराब प्रदर्शनपछि आएको यो जितले टोलीको आत्मविश्वास बढाएको छ। साथै घरेलु मैदानमा समर्थकसामु आएको यो जितले आगामी खेलहरूका लागि सकारात्मक सन्देश दिएको छ।

अब सिरिज अन्तर्गत सोमबार यूएर्ई र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने नेपालले आफ्नो अर्को खेल बुधबार ओमानसँग खेल्ने तालिका रहेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।