एमालेमा नेतृत्व परिवर्तनको हुटहुटी

एमालेमा नेतृत्व परिवर्तनको हुटहुटी

नेपाली राजनीतिको प्रमुख दल नेकपा एमालेभित्र लामो समयदेखि गुम्सिएर रहेको असन्तुष्टि यतिबेला संगठनात्मक संरचनाभित्र प्रकट हुने अवस्थामा पुगेको छ । राजधानीको मीनभवनमा आयोजना गरिएको ‘पुनर्जागरण भेला’ले एमालेभित्र नेतृत्व परिवर्तनको हुटहुटी कुन स्तरमा छ भन्ने तथ्यलाई सतहमा ल्याइदिएको छ ।

केन्द्रीय सदस्यहरूदेखि प्रभावशाली युवा नेताहरूको उपस्थितिमा भएको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको दशक लामो नेतृत्वशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । भेला एउटा गुटको समूह मात्र नभई पार्टीलाई नयाँ जीवन दिन चाहने पुस्तान्तरणको प्रश्न रहेको बताइएको छ ।

एमालेभित्र युवामा देखिएको छटपटीका पछाडि पार्टीको आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियामा भएको केन्द्रीकरण रहेको बताइन्छ । भेलामा सहभागी नेताहरूले उठाएझैँ एमालेभित्र लामो समयदेखि एक व्यक्ति, एक केन्द्र हावी भएको छ । जसका कारण दोस्रो र तेस्रो पुस्ताका नेताहरूले क्षमता प्रदर्शन गर्ने र संगठनलाई गति दिने अवसर नपाएको गुनासो सुनिन्छ । निर्णयहरू सचिवालयका सीमित कोठामा मात्र खुम्चिँदा तल्लो तहका कार्यकर्ता र जनतासँगको सम्बन्ध टुट्दै गएको छ । बदलिँदो राजनीतिक परिदृश्यमा पार्टीको वैचारिक स्पष्टता र विश्वसनीयतामा आएको ह्रास आएको छ । नयाँ दलहरूको उदय र जनताको बदलिँदो अपेक्षालाई सम्बोधन गर्न एमालेको पुरानो ढर्राको कार्यशैली बाधक बनिरहेको बताइन्छ ।

अध्यक्ष ओलीको स्वास्थ्य समस्या र पछिल्ला राजनीतिक घटनाक्रमले पार्टीभित्रको नेतृत्वको पुस्तान्तरणलाई झन् औचित्यपूर्ण बनाएको छ । पत्थरीको शल्यक्रियापछि आराम गरिरहेका ओलीको सक्रियता घट्नु र युवा नेताहरूले नेतृत्व परिवर्तनलाई अपरिहार्य भन्नुले एमाले अब गम्भीर मोडमा आइपुगेको संक्त गर्छ । नेताहरू झपट रावल, समिक बडाल र नरेश रोकाया जस्ता युवा नेताहरूले सुरु गरेको बहसले पार्टीलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको देखिन्छ । युवा नेताहरूको माग केवल व्यक्तिको प्रतिस्थापन मात्र नभई संगठनात्मक संस्कार, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको सुदृढीकरण रहेको देखिन्छ ।

एमालेको इतिहासमा यसअघि पनि पटक–पटक नेतृत्व र विचारको बहस नभएका होइनन् । यसअघि विशेष महाधिवेशनका लागि भएको हस्ताक्षर संकलन र अहिलेको पुनर्जागरण भेलाले पार्टीभित्रको एउटा हिस्सा नेतृत्वको विकल्प खोजिरहेको पुष्टि गर्छ । जब पार्टीका केन्द्रीय पदाधिकारी र सचिवालयका सदस्यहरू नै संगठनको पुनर्गठनको पक्षमा खुल्न थाल्छन्, तब नेतृत्वले त्यसलाई अनुशासनहीनताको बिल्ला भिराएर मात्र पन्छिन सकिँदैन । नेतृत्वले व्यक्त असन्तुष्टिलाई सुन्नु र सम्बोधन गर्नु पार्टीको हितमा हुन्छ ।

तर नेतृत्व परिवर्तनको मागले पार्टीभित्र गुटगत राजनीतिलाई थप प्रश्रय दिन सक्छ । यदि यसलाई सही ढङ्गले व्यवस्थापन गरिएन भने एमालेभित्र अर्को विभाजन वा ठूलो साङ्गठनिक क्षति हुनसक्ने जोखिम रहन्छ । तसर्थ असन्तुष्ट पक्षले पनि विरोधका लागि विरोध मात्र नगरी पार्टीलाई राजनीतिक चुनौती सामना गर्न सक्ने नीति सहितको विकल्प प्रस्तुत गर्नुपर्छ । नेतृत्व परिवर्तन मात्रै समस्याको समाधान होइन, परिवर्तनपछिको दिशा र गन्तव्य स्पष्ट गरिनुपर्छ ।

एमालेभित्रको गतिविधि नेपाली राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । जीवन्त पार्टीमा बहस र असन्तुष्टि हुनुलाई सकारात्मक मानिन्छ तर जब बहस नेतृत्वको स्वार्थको चपेटामा पर्छ, तब संगठन धराशायी हुन्छ । एमालेमा अहिलेको पुनर्जागरण भेलाले चेतावनी र अवसर दुवै ल्याएको छ । यस्तो बेला नेतृत्वले आफूलाई सुधार्ने वा नयाँ पुस्तालाई ससम्मान ठाउँ खाली गरिदिने आँट देखाउनुपर्छ ।

एमालेमा देखिएको नेतृत्व परिवर्तनको हुटहुटीलाई दमन गरेर होइन, लोकतान्त्रिक विधिबाट व्यवस्थापन गरिनुपर्छ । आधुनिक राजनीतिक परिवेशमा पार्टीलाई सान्दर्भिक राखिराख्न युवा पुस्ताको जोस र पुराना नेताहरूको अनुभवको सही संयोजन आवश्यक छ । एमालेले समयमै आफूलाई रूपान्तरण गर्न सकेन भने भविष्यमा यसको जनाधार झन् कमजोर हुनुका साथै मुलुकको लोकतन्त्रको ठूलो राजनीतिक शक्ति कमजोर हुनेतर्फ सचेत हुनुपर्छ ।

मिति २०८३ वैसाख २१ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।