काठमाडौं । इरानले सन् २०२६ को फिफा विश्वकप फुटबलमा सहभागी हुने स्पष्ट संकेत दिएको छ । तर प्रतियोगितामा सहभागिताका लागि उसले आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा र मेक्सिकोसमक्ष १० बुँदे शर्त अघि सारेको छ ।
इरानी फुटबल महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै विश्वकपमा सहभागी हुने प्रतिबद्धता जनाए पनि आफ्नो राष्ट्रिय विश्वास, संस्कृति र मूल्यबाट पछि नहट्ने स्पष्ट पारेको छ । महासंघले आयोजक राष्ट्रहरूले इरानका सुरक्षा र सम्मानसम्बन्धी चिन्तालाई गम्भीर रूपमा लिनुपर्ने बताएको छ ।
यो विषय त्यसपछि थप चर्चामा आएको हो, जब गत महिना क्यानडाले इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई प्रवेश अनुमति दिन अस्वीकार गरेको थियो । क्यानडाले ताजको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्ध रहेको आरोप लगाएको थियो ।
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले सरकारी टेलिभिजनमार्फत विश्वकप सहभागिताका लागि १० वटा शर्त सार्वजनिक गरेका छन् । ती शर्तमा खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बिना अवरोध भिसा उपलब्ध गराउनुपर्ने, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान सुनिश्चित गर्नुपर्ने तथा विमानस्थल, होटल र रंगशालासम्म जाने मार्गमा कडा सुरक्षा व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।
इरानले विशेषगरी अनिवार्य सैन्य सेवा गरेका खेलाडीलाई प्रवेश प्रक्रियामा कुनै अवरोध नगर्न माग गरेको छ । अध्यक्ष ताजले इन्टर मिलानका स्ट्राइकर मेहदी तारेमी र कप्तान एहसान हाजसफीको नाम उल्लेख गर्दै आईआरजीसीमा सेवा गरेका खेलाडीलाई पनि सहज रूपमा भिसा दिनुपर्ने बताएका छन् ।
यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी खेलाडीहरूलाई विश्वकपमा स्वागत गरिने बताएका छन् । तर अमेरिकाले आतंकवादी संगठनको सूचीमा राखेको आईआरजीसीसँग सम्बन्धित व्यक्तिमाथि भने प्रवेश प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका छन् ।
इरानको विश्वकप सहभागिता मध्यपूर्वमा अमेरिका र इजरायलसँगको तनाव तथा युद्धको पृष्ठभूमिमा थप संवेदनशील बनेको छ । यद्यपि युद्धविरामपछि पनि क्षेत्रीय अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने विश्वकपका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने बताएका छन् ।
प्रतियोगिताका क्रममा इरानको टोली अमेरिकाको एरिजोना राज्यस्थित टक्सनमा बस्नेछ । समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्ने तालिका छ ।
इरानी फुटबल महासंघले अन्त्यमा कुनै पनि बाह्य शक्तिले योग्यताका आधारमा विश्वकपमा छनोट भएको इरानलाई प्रतियोगिताबाट वञ्चित गर्न नसक्ने दाबी गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।



























