दिगो सिकाइका लागि विद्यालयमा प्रयोगात्मक अभ्यास

दिगो सिकाइका लागि विद्यालयमा प्रयोगात्मक अभ्यास

नेपालको शिक्षा प्रणालीमा सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपबिचको खाडल देखिँदै आएको छ ।

विद्यार्थीहरूले कक्षाकोठामा किताबका पानाहरू त पल्टाउँछन् तर ती ज्ञानलाई वास्तविक जीवनमा कसरी उतार्ने भन्ने प्रयोगात्मक अभ्यास नपाउँदा शिक्षित बेरोजगारहरूको संख्या बढ्दो छ ।

यस्तो पृष्ठभूमिमा म्याग्दीको बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयका विद्यार्थीहरूले देखाएको सक्रियता र व्यावसायिक सफलता एउटा अनुकरणीय उदाहरण बनेको छ । ‘पढ्दै, सिक्दै र कमाउँदै’ अवधारणालाई मूर्तरूप दिँदै विद्यार्थीहरूले गरेको तरकारी खेतीले दिगो सिकाइका लागि प्रयोगात्मक अभ्यास किन अपरिहार्य छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

विद्यालयमा कृषि प्राविधिक धारतर्फ ९ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूले जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरु गर्नु विद्यालयको एउटा परियोजना मात्र होइन, परम्परागत शिक्षण पद्धतिमाथिको सकारात्मक पहल हो । कक्षाकोठामा सिकेको माटोको बनावट, बिउको छनोट र सिँचाइका विधिहरूलाई जब विद्यार्थीले आफैँ कोदाली समातेर बारीमा प्रयोग गर्छन्, तब मात्र त्यो सिकाइ दिगो र अर्थपूर्ण बन्छ । २ रोपनी जग्गामा जिरीको साग, जुकेनी फर्सी, गोलभेंडा, तितेकरेला र खुर्सानी फलाएर बजारसम्म पुर्‍याउनुले प्राविधिक ज्ञान मात्र होइन, उद्यमशीलताको जग पनि बसालेको छ ।

आजको २१औँ शताब्दीको प्रतिस्पर्धी युगमा केवल प्रमाणपत्र बोकेर मात्र जीवन निर्वाह गर्न कठिन छ । प्राविधिक शिक्षाको मर्म नै विद्यार्थीलाई सीपयुक्त र आत्मनिर्भर बनाउनु हो । विद्यार्थीहरूले सिजनमा ५० हजार रुपैयाँसम्मको तरकारी उत्पादन गरेर विद्यालयकै छात्रावास, चमेनागृह र स्थानीय बजारमा बिक्री गर्नुले श्रमको सम्मान गर्ने संस्कृतिको विकास भएको छ । विद्यार्थीहरूले पढेको विषय बुझ्न सजिलो भएको, स्वरोजगार बन्ने आत्मबल बढेको र आयआर्जनको सीप सिकिएको अनुभवले शिक्षा नीतिले खोजेको वास्तविक प्रतिफल दिएको छ ।

सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि सारेको भए तापनि धेरै विद्यालयहरूमा अझै कागजमै सीमित छ । तर म्याग्दीका विद्यार्थीहरूले विक्रम संवत् २०७६ सालदेखि नै कृषि प्राविधिक विषय पढेर हालसम्म ५० भन्दा बढी जनशक्ति उत्पादन गरिसकेका छन् । बागलुङदेखि बेनी नगरपालिकासम्मका विद्यार्थीहरू यहाँ आकर्षित हुनुले व्यावसायिक र व्यावहारिक शिक्षाको भोक कति छ भन्ने देखाउँछ । विद्यालयका प्रधानाध्यापक र कृषि संयोजकको नेतृत्वमा भएको प्रयोगात्मक अभ्यासले अन्य विद्यालयहरूलाई पनि स्रोतसाधनको अधिकतम उपयोग गरी विद्यार्थीलाई उत्पादनसँग जोड्न प्रेरणा दिएको छ ।

नेपाल कृषिप्रधान देश भए तापनि अर्बौँको तरकारी र खाद्यान्न आयात हुन्छ । यस्तो अवस्थामा मङ्गला मावि जस्ता शैक्षिक संस्थाहरूले उत्पादन गर्ने दक्ष र व्यावहारिक कृषि जनशक्तिले नै देशलाई आत्मनिर्भरताको दिशामा लैजान सक्छन् । राज्यले यस्ता विद्यालयहरूलाई थप जग्गाको व्यवस्था, आधुनिक प्रविधिमा सहयोग र उत्पादित वस्तुको बजार सुनिश्चितताका लागि प्रोत्साहन गर्नुपर्छ । प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएरै भए पनि विद्यार्थीलाई माटोसँग जोड्ने विद्यालयको प्रयासलाई स्थानीय सरकारले पनि विशेष अनुदान र पूर्वाधारमा सहयोग गर्नु आवश्यक छ ।

शिक्षाको वास्तविक उद्देश्य भनेको मानिसलाई आत्मनिर्भर र विवेकशील बनाउनु हो । म्याग्दीका विद्यार्थीहरूले हातमा पुस्तक र काँधमा कोदाली बोकेर जुन सफलता हासिल गरेका छन्, त्यसले श्रम र शिक्षालाई एकसाथ जोडेको छ । देशभरका प्राविधिक विद्यालयहरूमा उत्पादनमुखी र व्यावहारिक शिक्षालाई अनिवार्य बनाउन सकिएमा युवाहरू रोजगारीको खोजीमा खाडी मुलुकमा पसिना बगाउनुपर्ने छैन, बरु स्वदेशमै सुन फलाउन सकिनेछ ।

मिति २०८३ वैसाख २८ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।