अमेरिका, क्यानडा र अस्ट्रेलियाका धेरै विश्वविद्यालय र विद्यालयहरूमा साइबर आक्रमण भएको छ, जसले शैक्षिक सत्रको अन्त्यतिर हुने महत्वपूर्ण परीक्षाहरूको समयमा अन्योल, अन्यौलता र ठूलो अवरोध सिर्जना गरेको छ ।
ह्याकिङ समूह ‘शाइनी हन्टर्स’ले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणका कारण हजारौँ विद्यालय र विश्वविद्यालयहरूले प्रयोग गर्ने शैक्षिक सफ्टवेयर ‘क्यानभास’ बन्द (अफलाइन) हुन पुग्यो ।
बिहीबार ढिलो गरी क्यानभासको स्वामित्व भएको कम्पनी ‘इन्स्ट्रक्चर’ले आफ्नो वेबसाइटमा जानकारी पोस्ट गर्दै क्यानभास धेरैजसो प्रयोगकर्ताका लागि उपलब्ध भएको बताएको थियो, तर केही विश्वविद्यालयहरूले शुक्रबार पनि अवरोध भइरहेको जानकारी दिइरहेका छन् । साइबर आक्रमणले विश्वभरका अनुमानित ९ हजार शिक्षण संस्थाहरूलाई असर पुर्याएको छ ।
मिसिसिपी स्टेट युनिभर्सिटीले प्रभावित विद्यार्थीहरूलाई हराएको काम पुनः प्राप्त गर्ने मौका दिन शुक्रबारका अन्तिम परीक्षाहरू स्थगित गरेको घोषणा गरेको छ । विश्वविद्यालयकी मौसम विज्ञानकी विद्यार्थी अब्रे पाल्मरले बीबीसीलाई बताएअनुसार विद्यार्थीहरूले २ हजार ९०० शब्दको परीक्षा निबन्ध भर्खरै सिध्याएका थिए, तब अचानक उनीहरूको स्क्रिनमा फिरौतीको सन्देश देखापर्यो ।
सन्देशमा लेखिएको थियोः ‘शाइनी हन्टर्सले इन्स्ट्रक्चरलाई ह्याक गरेको छ ।’ सन्देशमा यदि क्यानभास वा प्रभावित विश्वविद्यालयहरूले बिटक्वाइनमा फिरौती नतिरेमा चोरी गरिएका तथ्यांकहरू सार्वजनिक गरिदिने धम्की दिइएको थियो । ‘मेरो तत्कालको प्रतिक्रिया त म आफैँ ह्याक भएँ कि भन्ने थियो, किनभने त्यस्तै देखिन्थ्यो,’ पाल्मरले भनिन्, ‘तर पछि फिरौतीको सन्देश पढ्दा क्यानभास ह्याक भएको थाहा पाएँ ।’
पाल्मरका अनुसार प्राध्यापक र अन्य दर्जनौँ विद्यार्थीहरू सबैको स्क्रिनमा सोही सन्देश थियो र सबैजना अन्योलमा परेर कोठाभरि हेरिरहेका थिए । सुरुमा उनीहरूको काम सुरक्षित छ वा छैन भन्ने प्रस्ट थिएन । विद्यार्थीहरूमाझ छिट्टै नै निराशा फैलियो र पाल्मरका अनुसार मानिसहरू आफ्ना परीक्षाहरू फेरि दिनुपर्ने सम्भावनाले निकै आक्रोशित भएका थिए ।
विश्वविद्यालयले त्यसयता विद्यार्थीहरूलाई इमेलमार्फत जानकारी गराउँदै परीक्षाहरूको समय पुनः निर्धारण गर्दै र शंकास्पद सन्देशहरूलाई बेवास्ता गर्न सल्लाह दिँदै यसलाई देशव्यापी सुरक्षा घटनाको संज्ञा दिएको छ । सिड्नी विश्वविद्यालयले शुक्रबार विद्यार्थीहरूलाई क्यानभास उपलब्ध नभएको भन्दै ‘लगइन’ गर्ने प्रयास नगर्न निर्देशन दिएको छ । ‘हामी यस अवरोधबाट प्रभावित विश्वभरका करिब ९ हजार संस्थाहरूमध्ये एक हौँ र हामी अझै पनि इन्स्ट्रक्चरबाट सल्लाहको पर्खाइमा छौँ,’ विश्वविद्यालयले आफ्नो वेबसाइटमा लेखेको छ ।
यस अवरोधले विद्यार्थीहरूको कोर्सवर्क र परीक्षाहरू प्रभावित गरेको भन्दै विश्वविद्यालयले सेमेस्टरको संवेदनशील समयमा भएको अवरोधले पारेको मर्कालाई स्वीकार गरेको छ । बिहीबार आइडाहो स्टेट युनिभर्सिटीले स्थानीय समय अनुसार १२ बजेपछि तय गरिएका परीक्षाहरू रद्द गरेको थियो । पेन स्टेट युनिभर्सिटीले बिहीबार विद्यार्थीहरूलाई पठाएको सन्देशमा ‘अहिले कसैसँग पनि क्यानभासको पहुँच नभएको’ र समाधान आगामी २४ घण्टाभित्र हुने सम्भावना कम रहेको उल्लेख गरेको छ । विश्वविद्यालयले बिहीबार र शुक्रबारका लागि तय गरिएका केही परीक्षाहरू रद्द गरेको छ ।
बिहीबार साँझको एक अपडेटमा भ्यानकुभरस्थित युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले विद्यार्थीहरूलाई यसको माउ कम्पनी इन्स्ट्रक्चरको साइबर घुसपैठका कारण क्यानभास उपलब्ध नभएको जानकारी दिँदै तुरुन्तै लग आउट गर्न सल्लाह दिएको थियो । युनिभर्सिटी अफ टोरोन्टोले पनि आफू यसबाट प्रभावित भएको जानकारी दिँदै धेरै विश्वविद्यालयहरू प्रभावित भएको बताएको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका विद्यार्थीहरूले क्यानभास प्लेटफर्ममार्फत आफ्ना गृहकार्य (असाइनमेन्ट) हरू बुझाउन संघर्ष गर्नुपर्यो र शिकागो विश्वविद्यालयले पनि आफू लक्षित भएको रिपोर्ट आएपछि अस्थायी रूपमा आफ्नो क्यानभास पेज बन्द गरेको थियो । विश्वविद्यालयद्वारा सञ्चालित अखबार ‘द शिकागो मरुन’ले शाइनी हन्टर्सको एउटा सन्देशको स्क्रिनसट पोस्ट गरेको छ, जसमा फिरौती माग गरिएको देखिन्छ ।
सन्देशमा तथ्यांकहरू सार्वजनिक हुनबाट जोगाउन र निजी रूपमा मोलमोलाइ गर्न ह्याकिङ समूहलाई सम्पर्क गर्न विश्वविद्यालयलाई भनिएको थियो । नर्थवेस्टर्न युनिभर्सिटीका स्नातकोत्तर तहका विद्यार्थी ज्याक अबु–रिज्कले पनि विश्वविद्यालयका प्रशासकबाट आएको जस्तो देखिने इमेलको लिंकमा क्लिक गर्दा सोही सन्देश प्राप्त गरेको बताए । ‘मलाई के भइरहेको छ भन्ने थाहा थिएन,’ अबु–रिज्कले सम्झिए, ‘यो प्राप्त गर्नका लागि निकै डरलाग्दो सन्देश थियो ।’
उनका अनुसार विश्वविद्यालयले समस्यालाई सम्बोधन गर्दै एक सामान्य इमेल पठाएको थियो, जसमा नर्थवेस्टर्नले एउटा समस्याको निगरानी गरिरहेको उल्लेख थियो । इमेलमा विश्वविद्यालयसँग क्यानभास पुनः सञ्चालन हुने निश्चित समय नभएको र अन्य आईटी पूर्वाधारहरू प्रभावित नभएको बताइएको थियो । अबु–रिज्कले आफूले शुक्रबार पनि क्यानभास चलाउन नसकेको र त्यसयता विश्वविद्यालयबाट केही जानकारी नआएको बताए । ‘मेरो काम पूरा गर्न र क्यानभासमा आवश्यक साइटहरूमा पहुँच नहुँदा चिन्ता त छ नै,’ अबु–रिज्कले भने, ‘साथै यो खतरा वास्तवमा के हो र यसले मलाई कसरी असर गर्छ भन्ने थाहा नहुँदा पनि डर लागिरहेको छ । मलाई थाहा छैन, कुन तथ्यांक सार्वजनिक हुने हो र त्यसले मलाई त्रसित बनाएको छ ।’
बीबीसीले यसबारे प्रतिक्रियाका लागि नर्थवेस्टर्न युनिभर्सिटीलाई सम्पर्क गरेको छ । शाइनी हन्टर्स यसअघि पनि थुप्रै ठूला साइबर आक्रमणहरूसँग जोडिएको छ, जसमा गत वर्ष जगुआर ल्यान्ड रोभरमा गरिएको आर्थिक रूपमा क्षति पुर्याउने ह्याक पनि समावेश छ । साइबर सुरक्षा फर्म एमिसफ्टका खतरा विश्लेषक ल्युक कोनोलीले एसोसिएटेड प्रेसलाई बताए अनुसार स्क्रिनसटहरूले यो समूहबाट लक्षित धम्कीहरू आईतबारदेखि सुरु भएको र बिहीबार तथा १२ मेसम्मको समयसीमा दिइएको देखाउँछन् । उनले फिरौती भुक्तानीका सम्बन्धमा छलफलहरू भइरहेको हुनसक्ने बताए ।
समूहले पछिल्लो आक्रमणका क्रममा लिएको दाबी गरिएको तथ्यांकलाई के गर्ने योजना छ भन्नेबारे केही बताएको छैन । साइबर आक्रमण त्यही दिन भएको हो, जुन दिन अमेरिकी सिनेटका शीर्ष डेमोर्क्याट चक शुमरले ट्रम्प प्रशासनलाई पत्र पठाउँदै तीव्र रूपमा विकास भइरहेको एआईको युगमा साइबर जोखिमहरूविरुद्ध थप सुरक्षाको माग गरेका थिए ।
‘अमेरिकीहरूले अवरोध, बाधा र आक्रमणहरूको सामना गर्नुअघि नै जसले जीवन र जीविकोपार्जनलाई जोखिममा पार्न सक्छ, गृह सुरक्षा विभागले तुरुन्तै राज्य र स्थानीय निकायहरूलाई मद्दत गर्नुपर्छ,’ शुमरले लेखेका छन् । (बीबीसीबाट)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























