गुडिया र अचार उत्पादनमा जुट्दै तुलसीपुरका महिला: सीपले बदल्दै आत्मनिर्भर जीवन

गुडिया र अचार उत्पादनमा जुट्दै तुलसीपुरका महिला: सीपले बदल्दै आत्मनिर्भर जीवन

दाङ । पहिले घरको चुलोचौकामा सीमित रहेका तुलसीपुरका महिलाहरू अहिले सानो सीपको सहाराले आत्मनिर्भरतातर्फ अघि बढिरहेका छन्। गुडिया बनाउने र अचार उत्पादन गर्ने तालिमपछि उनीहरूको दैनिकी मात्र होइन, आम्दानीको स्रोतसमेत बदलिएको छ।

तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन् । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उनले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । “पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु”, उनले भने ।

त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अहिले अचार बनाउनमा व्यस्त छिन् । घरमा उत्पादन भएको लसुन, खुर्सानी, पाँच, बोडीलगायतका अचार बनाएर बेचेकी छन् । उनिहरु यसरी उद्यममा जोडिएका छन् । आयआर्जनमा जोडिएपछि घर खर्च चलाउन पनि घरका अन्य सदस्यसँग माग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । “पहिले केही खर्च चाहियो भने पनि घरमा माग्नु पथ्र्यो”, लामिछानेले भनिन्, “अब त हामी आफैँ कमाउने भइसकेका छौँ ।”

उनिहरु उदाहरणमात्रै हुन् । अहिले तुलसीपुरका महिलाहरू यसरी नै आयआर्जनमा जोडिएका छन् । सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिम सिकेपछि महिलाहरू स्वरोजगारीमार्फत आम्दानीमा जोडिएका हुन् । तुलसीपुर ६, ७ र ९ नं वडाका महिलालाई तालिम दिइएको थियो ।

जसमा २५ जना अचार बनाउने, ४७ जना गुडिया बनाउने तालिम दिएर महिलालाई हाल आयआर्जनमा जोडिएको सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेले बताए । उनका अनुसार महिलाहरूले ११ प्रकारका अचार बनाउन सिकेका छन् भने नौ प्रकारका गुडिया बनाउन सिकेका छन् । खरायो, पाण्डा, गणेश, टायर कुसन, लभकुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन् । त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार, भागो छोप, मिक्स अचार, लसुन र अदुवाको अचार बनाउन सिकेका हुन् ।