काठमाडौं । नेकपा एमाले ले प्रधानमन्त्री वालेन्द्र शाह ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला सदनबाट बाहिरिएको घटनालाई गम्भीर रूपमा लिँदै त्यसलाई ‘बहिष्कार सरह’ भएको ठहर गरेको छ।
एमालेले यसलाई संसदीय मर्यादा र परम्पराविपरीतको व्यवहार भन्दै आलोचना गरेको हो। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री उठेर बाहिरिएको घटनाले संसदभित्र तरंग सिर्जना गरेको थियो। सोही विषयलाई लिएर एमाले सांसद गुरुराज बराल ले कडा आपत्ति जनाउँदै यस्तो व्यवहारलाई स्वीकार गर्न नसकिने बताएका हुन्।
सांसद बरालले संसदमा बोल्दै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री स्वयं उपस्थित रहनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गरे। उनले प्रधानमन्त्री आफैंले नीति तथा कार्यक्रम प्रस्तुत गराउन सहमति जनाउने तर प्रस्तुतीकरणकै क्रममा उठेर बाहिरिनु विरोधाभासपूर्ण र अस्वीकार्य भएको टिप्पणी गरे। बरालका अनुसार यस्तो कार्यले संसदको गरिमा र मर्यादामा प्रत्यक्ष आघात पुर्याउनेछ।
उनले उक्त घटनालाई केवल सामान्य गतिविधि नभई नीति तथा कार्यक्रमप्रति असहमति वा बहिष्कारको संकेतका रूपमा व्याख्या गर्नुपर्ने जिकिर गरे। “राष्ट्रपतिले वाचन गरिरहनुभएको बेला उठेर हिँड्नु भनेको व्यवहारतः बहिष्कार गर्नु नै हो,” उनले भने, “यो संसदीय अभ्यासअनुसार अशोभनीय र अस्वीकार्य कार्य हो।” उनले यसलाई संसदीय इतिहासमा नकारात्मक उदाहरणका रूपमा दर्ज हुने चेतावनी पनि दिए।
बरालले संसदको रेकर्डबारे समेत प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्री बाहिरिएको क्षणपछि भएका गतिविधिहरू संसदको आधिकारिक अभिलेखमा राख्नु उपयुक्त नहुने भन्दै त्यस अंश हटाउन माग गरे। “यस्तो दृश्य रेकर्डमा रहिरहनु संसदीय गरिमाका लागि राम्रो होइन,” उनले भने, “यसलाई अभिलेखबाट हटाइनुपर्छ।” एमालेको तर्फबाट उठाइएको यस विषयले संसदभित्र राजनीतिक बहसलाई थप तातेको छ। सत्तारुढ र प्रतिपक्षबीच यस घटनालाई कसरी व्याख्या गर्ने भन्ने विषयमा मतभेद देखिएको छ।
कतिपयले प्रधानमन्त्रीको बाहिरिनुलाई व्यक्तिगत वा परिस्थितिजन्य कारण हुनसक्ने तर्क गरेका छन् भने एमालेले भने यसलाई स्पष्ट राजनीतिक सन्देशका रूपमा लिएको छ। यसबीच, सभामुख डोलप्रसाद अर्याल ले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै के भएको हो भन्नेबारे विस्तृत रूपमा बुझ्ने बताएका छन्। उनले संसद सञ्चालनको सन्दर्भमा देखिएका विवादित विषयहरूलाई आवश्यक प्रक्रिया अनुसार टुंग्याइने उल्लेख गरे।
सभामुख अर्यालले संसदमा उठेका विवाद र परिस्थितिलाई ध्यानमा राख्दै बैठक स्थगित गर्ने निर्णय पनि गरेका छन्। उनले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिए। यसले आगामी बैठकमा उक्त विषयमा थप छलफल हुने संकेत गरेको छ।
उक्त घटनाले संसदको आचारसंहिता, कार्यशैली र नेतृत्वको भूमिकामाथि पुनः बहस सुरु गराएको छ। संसदमा उच्च पदमा रहेका व्यक्तिहरूको व्यवहारले संस्थागत संस्कृतिमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता घटनालाई गम्भीर रूपमा लिनुपर्ने विश्लेषकहरू बताउँछन्। अब भोलिको बैठकमा यस विषयले कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।


























