काठमाडौं । आज भन्दा सात वर्षअघि अभिनेता गणेश भट्ट हिराे हुन काठमाडौं हानिएका थिए । अभिनयबाट आफ्नाे करियर बनाउन राजधानीमा सजिलाे भने थिएन । सहरकाे बढ्दाे महंगी झेल्न गाह्राे भएपछि उनले अभिनयसँगै अन्य काम गर्न थाले । उनी भन्छन्,'मुस्किलले छापाखानामा काम पाए । काम गर्दै अभिनयलाई पनि सँगसँगै लगिरहेकाे छु ।'
उनलाई काम सानो ठूलो लाग्दैन । मिहिनेत गर्दै सफलता हासिल गर्नुपर्छ भन्ने भट्टलाई लाग्छ । त्यसैले दिनकाे आठ घण्टा छापाखानामा काम गरिसकेपछि उनकाे दैनिकी कलाकार निर्देशकहरूसँग बित्छ ।
यही यात्राकाे क्रममा उनको गायक जिसन भट्टसँग भेट भयो। र, भट्टकै गीतमा उनले पहिलो पटक अभिनय गरे।
त्यसपछि भट्ट आफ्नो सपनाको यात्रामा लहरिन थाले। र, दुई वर्षको बीचमा उनले १५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले उज्यालो भो जुनले, मैसाव, जीवन साथी जस्ता थुप्रै चर्चित गीतमा अभिनय गरिसकेका छन् । हालैमात्र उनी अभिनित मैसाव र जीवन साथीको म्युजिक भिडियो बजारमा आएको छ ।
'अब सांगीतिक क्षेत्रमा काम पाउन थालेको छु । संघर्ष गर्दै नृत्यसँगै अभिनय पनि सिकिरहेको छु । यसै क्षेत्रमा भविष्य खोजिरहेको छु', उनले भने। उनले पछिल्लो समय थोरै भए पनि पारिश्रमिक लिएर काम गर्न थालेको जानकारी दिए। दर्शकले अभिनयलाई मन पराइदिएका कारण गीतमा अभिनय गर्न आफ्नो खोजी हुन थालेको उनी बताउँछन् ।
'हामी सामान्य परिवार र मोफसलबाट आएर काठमाडौंमा संघर्ष गरिरहेका मानिसहरूका लागि सहज छैन । तर, सहज छैन भन्दैमा हिम्मत पनि त हार्नु भएन,' उनले भने । आगामी दिनमा राम्रो फिल्म पाए त्यता पनि अभिनय गर्ने सोच बनाइरहेको उनी बताउँछन् ।
अहिले अभिनय गरेर नै जीविको पार्जन गर्न सक्ने अवस्था नरहेकाले अन्य काम गर्दै आफ्नो सपनालाई पुरा गरिरहेको उनी बताउँछन् । भोलि पूर्ण रूपमा यसैबाट जीविको पार्जन हुने अवस्था सिर्जना भए सांगीतिक क्षेत्रमा नै तल्लिन हुने उनले बताए ।




























