काठमाडौं । परराष्ट्र मन्त्रालयका सह-सचिवहरूको ४ वर्षे कार्यकाल सकिएपछि संयुक्त राष्ट्रसंघसहित सात वटा नियोग र दूतावास नेतृत्वविहीन भएका छन् ।
नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने मन्त्रालयले जनाएको छ ।
खाली दूतावासमा राजदूत नियुक्ति गर्ने काम भइरहेको मन्त्री एनपी साउदले जानकारी दिए । २०७५ मा जारी भएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा ३ (च) ले राजदूत पदको ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका राजपत्राङ्कित विशिष्ट (सचिव) वा प्रथम श्रेणी (सहसचिव) का बहालवाला अधिकृतमध्येबाट मन्त्रालयको सिफारिसलाई ध्यानमा राखी मन्त्रिपरिषद्ले राजदूत नियुक्त गर्ने व्यवस्था गरेको छ।
रिक्त रहेका सात ठाउँमध्ये मन्त्रालयका सचिव भरतराज पौड्याल न्युयोर्क जाने सम्भावना रहेकाे छ । उनकाे मङ्सिरमा अवकाश हुने भएकाले अहिले नै नियोग प्रमुख भएर जाने र उनको ठाउँमा सेवा लम्साल सचिव बन्ने सम्भावना रहेकाे छ ।
सचिव पौड्यालले यसै पटक राजदूत बन्ने चाहना राखे भने ६ जना परराष्ट्र सेवाका सहसचिवले राजदूत बन्ने अवसर पाउने भएका छन् ।
यस पटक राजदूतको दाबेदारका रूपमा रहेका मन्त्रालयका सिनियर सहसचिवमा सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, धनबहादुर ओली, रामप्रसाद सुवेदी र कौशल किशोर राय, सुरेन्द्र यादव, रिता धिताल समावेशी कोटामार्फत राजदूतका दाबेदार हुन् ।