ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट भट्टराई र फुयाँलको इजलासमा

ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट भट्टराई र फुयाँलको इजलासमा

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश द्वय आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ।

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा सुनुवाइ हुन लागेको हो।

ललिता निवासको सरकारी कागजात कीर्ते गरी जग्गा हडपेको आरोपमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह र धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए।

हदम्याद गुज्रिसकेको घटनामा गैर कानुनी रूपमा आफूहरूलाई पक्राउ गरेको भन्दै गत बुधवार उनीहरूले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए। अहिलेसम्म केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा ९ जनालाई पक्राउ गरिसकेको छ।

गुरुङ, शाह, र गौतमसँगै पूर्व मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की, काठमाडौं महानगर वडा नम्बर ५ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नक्कली मोही बाबु राजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ परेका हुन्।

यस्तै, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो।

ब्युरोले यसअघि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टेअर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाड्न परेको हो।