काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेछिच्क भएको बताएका छन् ।
सोमबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले संयुक्त रूपमा आयोजना गरेको ‘परिवर्तित कर नीति: भ्रम र यथार्थ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले यस्ताे बताएका हुन् ।
उनले आर्थिक विधेयकमा ल्याएका व्यवस्था गरेका छुट सुविधाहरू लिन करदातालाई भनेको तर बाध्यकारी नभएको बताए ।
सरकारले अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरूमा केही पनि परिवर्तन नभएको उनकाे भनाइ छ ।सरकारले आयकर ऐनमा कुनै पनि संशोधन नगरेको पनि उनले बताए ।
करदातालाई विशेष सुविधाको व्यवस्था गर्दा अहिलेका वर्तमान समस्या समाधान सहज बनाउन खोजिएको उनले बताए । उनले सरकारलाई राजश्वको चाप रहेकाले बढी आय भएकाहरुलाई आय करमा वृद्धि गरिएको बताए ।
महानिर्देशक मैनालीले सरकारले ५० लाखभन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर व्यवस्था गरेको बताए । सरकारको राजश्व संकलनमा सहजता भएसँगै घटाउने उनले बताए । ५० लाखभन्दा बढी आम्दानी गर्ने करदाता १ हजार ५० करदाता रहेको उनकाे भनाइ छ ।
महानिर्देशक मैनाली मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताए ।
नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचिमा हवाई टिकटलाई समेत समावेश गरेको भन्दै १३ प्रतिशतले महँगिने भन्ने प्रचार गलत भएको उनले जिकिर गरे । उनका अनुसार बढीमा ५ देखि ६ प्रतिशतमात्रै टिकटको मूल्य बढ्नेछ।
हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने, इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने भएकाले अब भाडामा मात्रै लाग्ने महानिर्देशक मैनालीको भनाइ छ ।
महानिर्देशक मैनालीले इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट तिरिरहेका कारण अतिरिक्त तिर्नु नपर्ने बताए ।
नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गर्दा करिब १० अर्ब राजश्व बढ्ने अवस्था रहेको पनि उनले बताए ।