काठमाडौैं । पोखरा हिमालको काखमा भएर पनि तालैतालको सहर हो, जहाँको नौवटा ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेको छ । सूचीकृत तालहररू मध्ये बेगनास सबैभन्दा ठूलो तालमा पर्छ । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित बेगनास तालमा बाह्रै महिना कञ्चन पानी टिल्पलाइरहन्छ, जसलाई अहिले पनि पर्यटकको पर्खाइ छ ।
जसरी फेवातालमा पर्यटक पुग्छन्, त्यसैगरी बेगनास तालमा पनि पर्यटक आइदिए हुन्थ्यो भन्ने रहर गर्छन् स्थानीयहरू । त्यसैले त लेखनाथ उद्योग बाणिज्य संघ, बेगनास ताल डुङ्गा व्यवसायी समिति, मतस्य व्यवसायी संघलगायतका संघसंस्थाहरू पर्यटक भित्राउन क्रियाशील बनेका छन् ।
पछिल्लो समय लेखनाथ उद्योथ वाणिज्य संघले आफ्नै प्राथमिकतामा बेगनास तालको संरक्षण गर्न लागिरहेको बताउँछन् संघका अध्यक्ष क्षत्रधर आत्रेय ।
२०५८ /५९ बाट सुरु भए पनि २०६० सालयता व्यवस्थित तवरले बर्षेनी लेखनाथ महोत्सव हुन थालेको हो, जहाँ तालको संरक्षणका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुने गरेको छ । संघका अध्यक्ष आत्रेयकाअनुसार तालको किनाराको रातमाटा क्षेत्रमा करिब १३ लाखको लागतमा अंग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको थियो ।
‘बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी ७० फिट लम्बाई र १७ फिट उचाइँको बोर्ड बनाउने कुरा हो । बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फिटको हुने छ’, अध्यक्ष आत्रेयले भने ।
बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरिने थियो । ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जनाको सहयोगमा एक हप्ता लगाएर डेमो तयार पारेका थिए । बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो ।
जसरी फेवातालमा पर्यटक पुग्छन्, त्यसैगरी बेगनास तालमा पनि पर्यटक आइदिए हुन्थ्यो भन्ने रहर गर्छन् स्थानीयहरू ।
ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रूपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो । पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमीको रुखआदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो ।
साथै, बेगनास ताल पारीको बराह क्षेत्रलाई समेत धार्मिक पर्यटनसँग जोड्न पहल गरिएको छ । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले बताए । त्यसैगरी बेगनासताल बराह क्षेत्र पर्यटकीय पूर्वाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट रु ५० लाखको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको छ । यही योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो । योजनाका लागि कुल ५५ लाख ७६ हजार ९१७ रुपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र श्रमदानबाट रु पाँच लाख ७६ हजार ९१७ विनियोजन गरिएको छ ।
बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रूपमा पनि उत्तिकै महत्व रहेको स्थानीयहरू बताउँछन् । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए । बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पुर्याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको छ ।
हरेक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस् आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन् ।
बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दूरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कँडेलले जानकारी दिए । पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष ९ लाख ९ हजार रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै तालको किनारामा पैदल मार्ग (फुट ट्रयाक) बनाउनका लागि नेपाल पर्यटन बोर्डले १५ लाख रुपैयाँ र पोखरा महानरपालिकाको ३ लाख ७५ हजार गरी १८ लाख ७५ हजार रुपैयाँको लागतमा डुङ्गाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ । महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको कँडेलले बताए ।
धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्द्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीकाअनुसार महायज्ञमा कूल एक करोड चार लाख रुपैयाँ आम्दानी भएकोमा सबै खर्च कटाएर ७६ लाख रुपैयाँ बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ ।
बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रूपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवर्द्धनका साथै बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था जस्ता काम पनि भइरहेको छ । पितृ स्मृति कक्ष निर्माण तथा बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको पनि छ ।
जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त सङ्ख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
बेगनास तालमा डुङ्गा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कँडेलले बताए ।
डुङ्गा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समुदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कँडेलले जानकारी दिए ।
पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रुपैयाँको मोटरबोट खरिद गरेको छ । समयानुकल रूपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुङ्गा व्यवसायीले सामुहिक रूपमा रकम उठाएर मोटरबोट ल्याएको छ ।
जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त संख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन् । बाँकी छ परिवार विक थरका र चार अन्य छन् । वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक २० हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आएको बेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले बताए । कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ । पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढेका कारण बेगनास तालमा पर्यटक आउने आशा जगाएको उनीहरू बताउँछन् ।