काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा शर्माले विश्वासको मत लिन लागेका हुन् । माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने भएका छन् ।
सत्ता गठबन्धन दलको शीर्ष नेताबीच भएको सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालेलाई दिने निर्णय भएको थियो ।
‘केन्द्रमा कर्णालीमा मुख्यमन्त्री एमालेलाई दिने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नै मुख्यमन्त्री शर्मालाई राजीनामा दिन दबाब दिएका थिए । तर उनले विश्वासको मत लिएर मात्रै कुर्सी छोड्ने अडान लिए ।
उनको अडानपछि एमालेले पनि उनलाई विश्वासको मत दिने र त्यसपछि मुख्यमन्त्रीबाट शर्माले राजीनामा गर्ने शर्तमा तयार भएको हो ।
कर्णालीमा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।



























