काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रशासन तर्फका दुई दर्जन कर्मचारी फेर्ने गृहकार्य अगाडि बढाइएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय, विभाग र अस्पतालहरूमा दरबन्दी रहेका प्रशासनतर्फका २ दर्जन कर्मचारी फेर्ने गृहकार्य अगाडि बढाएका हुन् ।
मन्त्रालय स्रोतकाअनुसार उपसचिवदेखि सुब्बासम्मका दुई दर्जन कर्मचारी फेर्न मन्त्री स्वयंमले गृहकार्य अगाडि बढाएका छन् । मन्त्री बस्नेतले आफ्नो सचिवालयसँग समेत सहकार्य नगरी आफ्नो पार्टीभित्रको 'कोर टिम' मार्फत स्वास्थ्यबाट अन्यत्र पठाउने कर्मचारीको लिस्ट तयार पारेका छन् ।
सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्यबाट फेर्ने कर्मचारीहरूको पहिलो लिस्ट सामान्यमा पुगिसकेको छ । थप कर्मचारीलाई पनि स्वास्थ्यमा फेर्ने गृहकार्य भइरहेको सुनिएको स्रोतको भनाई छ । अन्य मन्त्रालयबाट स्वास्थ्यमा जान चाहेका केही कर्मचारीहरू स्वास्थ्य मन्त्रीको हवाला दिँदै सरुवाका लागि धाइरहेको सामान्य स्रोतले बतायो ।
यसअघिका स्वास्थ्यमन्त्रीहरूले मन्त्रालयका महत्त्वपूर्ण निकाय, विभाग, केन्द्र तथा अस्पतालहरूको नेतृत्व परिवर्तन गर्दै आएका थिए । तर, प्रशासनतर्फ भने अत्यन्त न्यून कर्मचारी फेरिने गरेका थिए ।
यसपटक मन्त्री बस्नेतले आफूलाई काम गर्न सहज हुने गरी पार्टीनिकट कर्मचारीहरूलाई स्वास्थ्यमा भित्र्याउने तयारी गरेका हुन् ।
बस्नेतले मन्त्रालय सम्हालेको एक महिनामै मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराई र आन्तरिक प्रशासन शाखाका उपसचिव दीपक थापाको परिवर्तन गरेका थिए । तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट सरुवा भएर आएका भट्टराईको ठाउँमा केशव थापालाई ल्याइएका हुन् ।
कर्मचारी प्रशासनमा सामान्यतः दुई वर्षसम्म कर्मचारी परिवर्तन नगर्ने व्यवस्था छ । तर, मन्त्री बस्नेतले पार्टीभित्रको कोर टिम बनाउने नाममा जथाभाबी सरुवा गर्ने तयारीमा लागेका छन् ।