प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइबारे समितिको बैठकमा छलफल हुने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइबारे समितिको बैठकमा छलफल हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दै छ । 

बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश माथि प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुने बताइएको छ ।

संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध  २९ वटा उजुरी परेको छ ।  कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् ।

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले उजुरी गरेका छन् । यसैगरी अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।  कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानुनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ । 

समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।