सप्तरी । कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरेर परिवार पाल्दै आएकी सप्तरीको बोदे बसाइन नगरपालिका–७ हैठीका कलमतदेवी सदाको पहिचान यतिबेला फेरिएको छ ।
केही वर्ष अघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी उनको अब भन्ने त्यो दुःखको दिन गएको छ । पुँजीका अभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्न थालेपछि उनको दुःखको दिन गएको हो ।
गाउँको साहुमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आएकी सदाको परिवारमा केही वर्ष अघिसम्म दुःखको पहाड लागेको थियो तर ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख बिस्तारै हराउन थालेको सदा बताउँछन् ।
'केही नगरी जीवनस्तर उकास्न सकिन भन्ने बुझेर दुई वर्षअघि न्यून पुँजीमा किराना पसल सञ्चालन गरे अहिले जीवनमा ठूलो परिवर्तन आएको छ', उनी भन्छिन्, । व्यापार गर्ने इच्छा भए पनि पुँजी अभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन, तर २०७८ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित दिनाराम दिनाभद्री बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार सुरु गरेपछि आफ्नो सपना साकार भएको उनको कथन छ ।
कलमतदेवीले पसल चलाउन थालेपछि अहिले उनका श्रीमान् विहारी सदाले पनि उनलाई सघाइरहेका छन् । 'म पसल चलाउँछु, श्रीमान्ले नजिकैको बोदे बसाइन बजार र मानराजबाट पसलका लागि चाहिने सामान ल्याई दिनुहुन्छ', कलमतदेवी भन्नुहुन्छ, 'अहिले हामी दुवै जना मिलेर पसल चलाइरहेका छौँ ।' पसलबाट दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी भइरहेको उनको कथन छ ।
'पहिला गाउँको साहु महाजनमा मजदुरी गर्दै आएको थिए', कलमतदेवीका श्रीमान् विहारी सदा भन्छन्, 'अहिले केही वर्षदेखि मजदुरी छाडेर किराना पसलमा श्रीमतीलाई सघाउँदै आएको छु ।' अरुको मजदुरी गर्नुभन्दा आफ्नै व्यापार गरेर राम्रो आम्दानी गर्न पाएकोमा असाध्यै खुसी लागेको उनको अनुभव छ ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–१० जमुवाकी लक्ष्मीकुमारी रामले पनि गाउँमा किराना पसल चलाएर राम्रो आम्दानी गर्दै आएका छन् । सामान्य लेखपढ गर्नसमेत नजानेकी लक्ष्मीलाई बिहान हुने बित्तिकै कति बेला पसल खोल्ने, कहाँबाट सामान ल्याउन र बिक्री गर्ने भन्नेमा हतारो हुन्छ ।
दुई वर्ष अघिसम्म पुँजीको अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले भन्ने गाउँ नजिकै किराना पसल सञ्चालन गरी राम्रो आम्दानी गर्दै आएका छन् । आयआर्जनको गतिलो आधारसँगै लक्ष्मीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ ।
आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघि सम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगतको अतीत सम्झिँदै लक्ष्मी भन्छन्, 'पहिले हरवाचरवाको रुपमा ज्याला मजदुरीमा सधैँ काम गरेर जीविकोपार्जन गरिरहेको थिएँ, बालबच्चालाई पालनपोषण गर्न धौ–धौ हुन्थ्यो ।' अहिले भन्ने स्वतन्त्ररुपमा सानो व्यापार गरेर राम्रो आम्दानी हुन थालेको छ, जसका कारण सन्तुष्ट छु, उनको भनाइ छ ।
'दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याला पाउँथे, त्यस कारण परिवार चलाउन समस्या हुन्थ्यो', लक्ष्मी भन्छन्, 'तर अब मेरो त्यो दुःखको दिन कटेको छ ।' अहिले तरकारी व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएको छु, उनको भनाइ छ ।
आर्थिक विपन्नता र चेतनाको अभावमा साहु महाजनमा श्रम गर्दै आएकी लक्ष्मीकुमारी, कलमतको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो ।
'सुरु सुरुमा म धेरै लजाउँथे, के गरौँ नगरौँ भन्ने थाहै थिएन, सधैँ मजदुरी गरेर जेनतेन परिवार मात्रै पाल्थे', लक्ष्मी भन्छन्, 'तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो ।'
द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तीकरण कार्यक्रमअन्तर्गत गाउँकै महिलाको सक्रियतामा गठन भएको बचत तथा समूहमा आबद्ध भएकी उनीहरु त्यही समूहबाट ऋण लिएर व्यापार सुरु गरेको बताउँछन् ।
कलमतदेवी आबद्ध दिनाराम दिनाभद्री बचत तथा ऋण समूहमा ३० जना सदस्य आबद्ध छन् । हरेक सदस्यले बचत समूहका मासिक रु एक सयका दरले बचतसमेत गर्दै आएको समूहका अध्यक्ष अधिकलाल सदाले बताउनुभयो । सदस्यले मासिकरुपमा गरेको बचत रकम रु २४ हजारभन्दा बढी पुगेको छ, समूहका अध्यक्ष सदाले भने, 'बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गर्ने गरेका छौँ ।' जसले महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको उनको बुझाइ छ ।
पछिल्लो केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले सकारात्मक सन्देश दिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता सञ्जीवकुमार यादवको भनाइ छ ।