सुदूरपश्चिममा पनि सांसदलाई पैसा बाँड्ने तयारी

सुदूरपश्चिममा पनि सांसदलाई पैसा बाँड्ने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार बजेट ल्याउँदै छ ।

भोलि साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्ने भएका छन् । उनले करिब ३० अर्ब हाराहारीको बजेट ल्याउन लागेको बताइएको छ ।

यस प्रदेशमा प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदलाई पैसा बाँड्ने तयारी सरकारले गरेको छ । स्रोतकाअनुसार अघिल्लो वर्ष रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेश सभा सदस्यहरूलाई तीन करोड बजेट उपलब्ध गराउने तयारी समेत भइरहेको छ ।

प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

सरकारले अघिल्लो पटकभन्दा यस पटक सानो आकारमा बजेट ल्याउन लागेको छ । अघिल्लो वर्ष सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।