काठमाडौं । असार महिनाभित्र ३ वटा सहसचिवले सचिव पदमा बढुवा हुने अवसर पाउने भएका छन् । मुख्यसचिव शंकरदास वैरागीलाई सरकारले राजीनामा गर्न लगाएर बिहीबार मात्र राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको छ । साथै सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव समेत बनाएको छ ।
यी दुई नियुक्तिसँगै असार महिनाभित्र ३ सहसचिवले सचिवमा बढुवा हुने अवसर पाउने भएका हुन् । यद्यपि सचिवको दरबन्दी घटाउने चर्चा पनि । यही चर्चाकै बीचमा सचिवको दरबन्दी नघटेमा तीन जना सहसचिवको सचिवमा बढुवा हुनेछ ।
निवर्तमान मुख्यसचिव वैरागी र बिहीबार मात्र मुख्यसचिव नियुक्त भएका अर्यालको सचिवको ५ वर्षे कार्यकाल असार ३ गते सकिँदै छ ।
अर्याल मुख्यसचिवमा नियुक्त भएसँगै एक सचिवको दरबन्दी रिक्त भएको छ । त्यसैगरी असार ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत यादवप्रसाद कोइराला ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदै छन् । त्यसैगरी असारकै २४ गते राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी (सचिव) ५ वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा जाँदै छन् ।
यी हुन् सचिवका सम्भावित अनुहार
नेपाल सरकारको सचिव पदमा ३ जनाको रिक्त भएसँगै बढुवाका लागि तीन जना सहसचिवहरू लाइनमा रहेका छन् । जसमध्ये लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्याय रहेका छन् । उनीहरूमध्ये दुई जना असार पहिलो साता र एक जना असारको अन्तिम साता सचिव पदमा बढुवा भइसक्नेछन् ।
यी तीन जनामध्ये पहिलो नम्बरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मीकुमारी बस्नेत रहेकी छन् ।
मन्त्रालयमा महिला सशक्तीकरण महाशाखा हेर्दै आएकी उनी वरियताका हिसाबले सहसचिव हुँदा अहिले सचिव भइसकेका १० जनाभन्दा वरिष्ठ हुन् । बस्नेत आफैँले सहसचिवको कार्यकाल लम्ब्याउन सचिव बढुवा हुनुअघि लिनुपर्ने तालिम नलिएर बसेकी थिइन् । उनी १३ वर्षअघि २०६७ साल फागुन २६ गते सहसचिव भएकी थिइन् ।
दोस्रो नम्बरमा चीनको सिचुवान प्रान्तको छेन्दु सहरस्थित नेपालको महावाणिज्यदूत दिनेशकुमार घिमिरे रहेका छन् । उनी २०७७ मंसिरदेखि त्यहाँ कार्यरत छन् । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले उनलाई दुई पटक सचिवमा सिफारिस गरिसकेको छ । घिमिरे पहिलो चरणमा कोशी प्रदेशका प्रमुख सचिव दीपक काफ्ले सचिव बढुवा हुँदा तेस्रो नम्बरमा र दोस्रो चरणमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा सचिवमा बढुवा हुँदा दोस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस भएका थिए । उनी २०६९ साल चैत ६ गते सहसचिव पदमा नियुक्त भएका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका सहसचिव घनश्याम उपाध्याय सचिव बढुवाको तेस्रो नम्बरमा छन् । उनी यसअघि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा सचिवमा बढुवा सिफारिस हुँदा तेस्रो नम्बरमा सिफारिस भएका थिए । वरियतामा तेस्रो नम्बरमा भए पनि उनी सचिव बढुवाका लागि सम्भावित पहिलो नम्बरमा रहेको अनुमान गरिएको छ ।
यी तीन जनामध्ये कुनै सचिवमा बढुवाका लागि सिफारिस नभएमा वरियताका आधारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल, शिक्षा सेवाका सहसचिव चुणामणि पौडेल र डा. हरिप्रसाद लम्साल सचिवको प्रतिस्पर्धामा छन् ।