काठमाडौं । काठमाडौं महानगरले सोमबारदेखि भारतीय चलचित्र 'आदिपुरुष' फिल्महलमा लाग्न नदिने भएको छ ।
महानगर प्रमुख बालेन साह (बालेन्द्र)ले सामाजिक सञ्जालमार्फत् हिन्दी चलचित्र लाग्न नदिने जनाएका हुन् ।
चलचित्रमार्फत् नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको भन्दै महानगरले चलचित्र हलबाट राेक्न लागेकाे हाे ।
आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा भाेलिदेखि कुनै पनि हिन्दी चलचित्र काठमाडौं महानगरपालिकाभित्र नचल्ने भएकाे हाे ।
गत बिहीबार बालेनले आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई नसच्याएसम्म काठमाडौं महानगरकाे कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।
सोही चेतावनीअनुसार भाेलिदेखि हलमा हिन्दी चलचित्र नलाग्ने भएकाे हाे ।
कुनै हलले हिन्दी चलचित्र लगाएकाे अवस्थामा नगर प्रहरीसमेत परिचालन गर्नेसम्मकाे तयारी महानगरकाे रहेकाे स्राेतले जनाएकाे छ ।



























