घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

इलाका प्रहरी कार्यालय, मिर्चैया सिराहाका तत्कालीन प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारले सेवाग्राहीसँग घुस माग गरेकाे आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता भएकाे हाे । 

मुद्दा शाखामा कार्यरत भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेकाे भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएकाे टाेलीले उनलाई नियन्त्रणमा लिएकाे हाे ।

आयोगले भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा तत्कालीन प्रहरी सहायक निरीक्षक भदैसवारले उजुरी निवेदन दर्ता गर्न सेवाग्राहीसँग रु.९,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज सचिन कुमार भदैसवारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिमको कसुरमा विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहायको (क) बमोजिम कैद र विगोबमोजिम जरिवाना हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।