नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेकाे छ ।
उपमहानगरले एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाको बजेट सार्वजनिक गरेको हाे ।
शनिबार भएको नगरसभाको १३ औं अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो ।
बजेटमा संघ र प्रदेशको सशर्त र समपुरक अनुदान, वित्तिय समानिकरण, राजश्व बाँडफाँडबाहेक घरजग्गा रजिष्टेसन (मालपोत) १४ करोड, आन्तरिक आय १८ करोड र राजश्व/अनुदान बचत मौज्जात २० करोड रहेको छ ।
वडाहरूलाई गतवर्षकै बराबरीमा बजेट छुट्याइएको छ । २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराएर ५० प्रतिशत सबै वडालाई बराबरी र ५० प्रतिशत जनसंख्या, राजश्व संकलनलगायतका मापदण्ड बनाएर उपलब्ध गराइएको छ ।
वडा कार्यालय भवन निर्माण, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन पहल गर्ने, नेपालगञ्जका चोकहरुमा सौन्दर्यकरण तथा ट्राफिक लाइटको व्यवस्था गर्ने, नेपालगञ्जमा ऐतिहासिक पार्क निर्माण, तालतलैयाको संरक्षण गर्ने, एक घर न्यूनतम एक रुखको अवधारणा अनुसार भवन बनाउन अनुमति दिने, सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज तथा पहिचान गरी संरक्षण गर्ने, धार्मिक, सांस्कृतिक क्रियाकलापको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने कार्यक्रममा उल्लेख छ ।
यसैगरी, नेपालगञ्जको ऐतिहासिक कला झल्किने गरी वडा नं. २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, गर्भवती सुत्केरी, जेष्ठ नागरिक तथा आकस्मिक विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने बताइएकाे छ ।