काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सार्वजनिक प्रशासनलाई नागरिकले अनुभूति गर्ने गरी सुधार आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयमा आयोजित नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पुष्करले सार्वजनिक प्रशासनलाई प्रभावकारी, सक्षम र नागरिकले अनुभूति गर्ने गरी सुधार गर्नु आवश्यक रहेको बताएका हुन् ।
सचिव पुष्करले विगत लामो समयदेखि थाती रहेको नीति संवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरे ।
सार्वजनिक क्षेत्रमा देखिएका समसामयिक मुद्धाहरुलाई सार्वजनिक बहसमा ल्याई प्राप्त सुझावहरूलाई पृष्ठपोषणका रूपमा लिने उद्देश्यले मन्त्रालयद्वारा नीति संवाद कार्यक्रम आयोजना गरेको थियो ।
उनले भने, ‘सार्वजनिक प्रशासनलाई प्रभावकारी, सक्षम र नागरिकले अनुभूति गर्ने गरी सुधार गर्नु आवश्यक छ । यस्ता कार्यक्रमबाट सम्बन्धित क्षेत्रका विज्ञ, प्राज्ञिक क्षेत्र, अनुसन्धानकर्ता एवं सार्वजनिक क्षेत्रलाई एकै ठाउँमा ल्याई समसामयिक सवालमा साझा धारणा बनाउन मद्दत मिल्दछ ।’
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव, विभिन्न मन्त्रालयका उच्च पदस्थ पदाधिकारी, त्रिभुवन विश्व विद्यालय र काठमाडौँ विश्व विद्यालयका विद्यार्थी एवं नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरुकोसमेत सहभागिता रहेको थियो । भ्रष्टाचार नियन्त्रण भनेर भन्दा गरेर तथा अरूबाट भन्दा आफैबाट सुरुवात गर्ने विषय भएको उनको भनाइ छ ।