काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि सङ्घ नेपालले त्रिपुरेश्वरस्थित भन्सार विभागअगाडि धर्ना दिएको छ ।
संशोधित भन्सार ऐन २०६४ र नियमावली २०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै उनीहरू धर्नामा बसेका हुन् ।
देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरू सरकारका कारण जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै सङ्घले विरोधस्वरुप धर्ना दिएको हो ।
धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए ।
ती ३०० जनाको रोजगारी ग्यारेन्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको उनको भनाइ छ । मेची भन्सार एजेन्टका प्रतिनिधि शङ्कर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक काम गर्न पाउने व्यवस्था खारेज गरेको बताए ।
धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरू हटाएर भन्सार प्रतिनिधिहरूको रोजगारी माथि लात हानेको भन्दै २५-३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व सङ्कलनमा महत्त्वपूर्ण योगदान दिएको बताए ।
भन्सार प्रतिनिधिहरूले पटक पटक विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर भएर आन्दोलनमा जानुपरेको बताए ।


























