काठमाडौं । पोखराको नागढुंगास्थित एक होटलमा हिजो अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् ।
२ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ । तर, उपचारकै क्रममा हिजै साझँ करिब साढे ७ बजे मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार दिउँसो विक र एक जना पुरुष होटलको कोठामा प्रवेश गरेका थिए । कोठामा प्रवेश गरेको केही समयमै पुरुष बाहिरिएको र महिला साँझसम्म ननिस्किएपछि होटल सञ्चालकले खोजी गर्दा अचेत अवस्थामा फेला परेका थिइन् ।
विकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कास्की प्रहरीले जनाएको छ । यो घटना अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।




























