काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षक (आईजीपी) का रूपमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। प्रहरी सेवामा प्रवेश गर्नुअघि उनी सामान्य प्रशासनतर्फ खरिदारको रूपमा कार्यरत थिए।
स्थायी सरकारी जागिरमा रहँदा पनि उनले जीवनको बाटो मोड्ने निर्णय लिए—र त्यो निर्णयले उनलाई अन्ततः संगठनको सर्वोच्च नेतृत्वसम्म पुर्यायो। वि.सं. २०५४ सालमा नेपाल प्रहरीमा निरीक्षक (इन्सपेक्टर) पदका लागि भर्ना खुलेपछि सुर्खेत घर भएका पौडेल काठमाडौं आएका थिए। त्यसबेला उनी वीरेन्द्रनगर नगरपालिकामा करिब पाँच वर्षदेखि कार्यरत थिए। साथीहरूको सुझावमा फाराम भरेका उनले प्रहरी सेवामा प्रवेश गर्ने ठोस योजना बनाएका थिएनन्। तर पहिलो प्रयासमै नाम निस्किएपछि उनले खरिदारको जागिर त्याग्दै प्रहरी सेवा रोजे। करिब २८ वर्ष लामो सेवापछि सोमबार मन्त्रिपरिषद्ले उनलाई सशस्त्र प्रहरीको नेतृत्व सुम्पने निर्णय गरेको हो।
आफ्नो सुरुवाती दिन सम्झँदै पौडेल भन्छन्, उनी प्रहरी बन्ने लक्ष्य लिएर नभई संयोगवश यो क्षेत्रमा आएका थिए। साथीहरूको प्रेरणाले परीक्षा दिएको र पहिलोपटकमै सफल भएपछि जीवनको बाटो नै बदलिएको उनको अनुभव छ। कृषक परिवारमा जन्मिएका उनले २०५४ चैत १८ गते नेपाल प्रहरी निरीक्षकको रूपमा औपचारिक सेवा सुरु गरेका थिए। त्यो समय देश सशस्त्र द्वन्द्वको चपेटामा थियो। प्रहरी सेवामा प्रवेश गरेका नयाँ अधिकृतहरूका लागि कार्यक्षेत्र अत्यन्त चुनौतीपूर्ण थियो। विशेष गरी रुकुम र रोल्पा जस्ता जिल्लाहरू सुरक्षा निकायका लागि उच्च जोखिमयुक्त मानिन्थे। तालिम सकेलगत्तै पौडेलको पहिलो पोस्टिङ रोल्पामा भयो, जुन तत्कालीन द्वन्द्वको केन्द्रबिन्दु थियो। त्यहाँ उनले स्ट्राइकिङ फोर्समा रहेर काम गरे।
रोल्पाका दुई वटा इलाका प्रहरी कार्यालयमा खटिएका उनले द्वन्द्वका कठिन अवस्थाहरू नजिकबाट भोगे। ती दुवै स्थानमा तत्कालीन माओवादी समूहले आक्रमण गरेका थिए, जहाँ दोहोरो भिडन्तसमेत भयो। उनी भन्छन्, त्यो समय अत्यन्त जोखिमपूर्ण भए पनि राज्यले दिएको जिम्मेवारी पूरा गर्नु सुरक्षाकर्मीको कर्तव्य थियो। उनका अनुसार त्यस्ता घटनाहरूमा धेरै सहकर्मीहरूले ज्यान गुमाएका थिए, जसको सम्झना अझै ताजा छ।
पौडेलको करिअरमा अर्को महत्वपूर्ण मोड २०५८ सालमा आयो, जब उनले नेपाल प्रहरी छाडेर सशस्त्र प्रहरी बलमा जाने निर्णय गरे। त्यसबेला सरकारले नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा जानेलाई एक तह बढुवा दिने नीति लिएको थियो। सोही अवसरमा उनीसहित पाँच जना अधिकृत सशस्त्र प्रहरीमा स्थानान्तरण भए। त्यतिबेला उनीहरू सिधै डीएसपीमा बढुवा भएका थिए।
सशस्त्र प्रहरीमा प्रवेश गर्नुअघि पनि पौडेल रोल्पामा स्ट्राइकिङ टोलीको कमान्डरको रूपमा कार्यरत थिए। उत्कृष्ट कार्यसम्पादनका कारण उनलाई एक ग्रेड बढुवासहित पुरस्कृत गरिएको थियो। त्यसअघि उनले झापाको विर्तामोड, प्रहरी प्रशिक्षण प्रतिष्ठान र दाङ जिल्ला प्रहरी कार्यालयमा पनि जिम्मेवारी सम्हालेका थिए। सशस्त्र प्रहरीमा प्रवेश गरेपछि उनले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाले। प्रारम्भिक चरणमा तुल्सीपुरस्थित सुरक्षा बेसको नेतृत्व गरेका उनी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि खटिए। २०६३ सालमा एसपीमा बढुवा भएपछि उनले शान्ति प्रक्रियाको समयमा अनमिनअन्तर्गत हतियार अनुगमन टोलीमा सदस्यको रूपमा काम गरे। त्यसपछि उनले सीमा सुरक्षा कार्यालय बर्दिया, निलबराही गण तथा बंगलामुखी विशेष कार्यदल गणमा गणपतिको जिम्मेवारी सम्हाले। विभिन्न क्षेत्रीय मुख्यालयहरूमा काम गर्दै उनले संगठनको सञ्चालन, सुरक्षा रणनीति र व्यवस्थापनमा अनुभव बटुले।
२०७० सालमा वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि उनले सशस्त्र प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, व्यावसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालय र उपत्यका सुरक्षा कार्यालयमा नीति निर्माण तथा रणनीतिक योजनामा काम गरे। यसै क्रममा उनले आर्थिक प्रशासन महाशाखा प्रमुख तथा ककनीस्थित यूएन तालिम शिक्षालयका समादेशकको रूपमा पनि काम गरेका थिए। पछिल्ला वर्षहरूमा उनको अनुभव झन् व्यापक बन्दै गयो।
२०७५ सालमा डीआईजी भएपछि उनले कार्य तथा सीमा सुरक्षा विभाग र मानव स्रोत विभागमा काम गरे। साथै लुम्बिनी र गण्डकी प्रदेशस्थित बाहिनी मुख्यालयहरूको नेतृत्व पनि सम्हाले। २०७९ सालमा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि मानव स्रोत, सीमा र कार्य विभागको नेतृत्व गर्दै संस्थागत सुधारमा भूमिका खेले। उनले अन्तर्राष्ट्रिय स्तरमा पनि अनुभव हासिल गरेका छन्। संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा उनले लाइबेरियामा ६ महिना र कोसोभोमा २५ महिना काम गरेका थिए। सेवा अवधिमा उनले सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिणबाहु (चौथो), प्रदेश सेवा पदकलगायत विभिन्न सम्मान प्राप्त गरेका छन्।
पौडेलसँगै सेवा प्रवेश गरेका उनका समकालीनहरू अहिले विभिन्न उच्च पदमा छन्। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की पनि उनीसँगै सेवा सुरु गरेका ब्याची हुन्। यस्तै, हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उनका समकालीन हुन्, जो आफ्नो कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। अर्यालपछि नेतृत्व सम्हाल्ने जिम्मेवारी अब पौडेलको काँधमा आएको हो। एउटै ब्याचका दुई जना व्यक्तिले फरक–फरक समयमा आईजीपी बन्ने अवसर विरलै पाइन्छ।
यस अर्थमा पनि पौडेलको नियुक्ति विशेष मानिएको छ। उनले आफूलाई दिइएको जिम्मेवारीलाई नयाँ परिवेशअनुसार प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विगतका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै संगठनको छवि उकास्ने र जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ। अब करिब २३ महिनासम्म उनले सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन्। उनको नेतृत्वमा संगठनले सुरक्षा चुनौतीहरूको सामना कसरी गर्छ, सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आन्तरिक सुरक्षा सुदृढीकरणमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा चासो बढेको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























