काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै ठग्ने ‘धर्म गुरु’ पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शिवसुत गौरीभक्त भन्ने पुरुषोत्तम काफ्लेलाई ठगी आरोपमा पक्राउ गरेको हो । उनीमाथि विभिन्न व्यक्तिसँग लगानी गरिदिने भन्दै करोडौं ठगेको आरोप लागेको छ ।
सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीका अनुसार काफ्लेले काठमाडौंमा हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली विभिन्न व्यक्तिलाई सदस्य बनाएर ठगेका गिए ।
उनले पीडितहरुलाई स्वदेशी तथा विदेशी कम्पनीमा रकम लगानी गर्न अभिप्रेरित गराउने उद्देश्यले स्वअध्ययनसम्बन्धी ३ दिने सेमिनार गरी संस्थाको सदस्य बन्न लगाई सदस्यता बनेबापत प्रतिव्यक्ति १०८ रुपैयाँ शुल्क उठाएका थिए ।
साथै केही व्यक्तिहरूलाई पटक–पटक पैसा लगानी गर्न दबाब दिएको र नमान्नेलाई परिवारका सदस्य मारिदिनेसम्मको धम्की दिएको प्रहरीको भनाइ छ । उनीमाथि विभिन्न व्यक्तिबाट ५ करोड रुपैयाँभन्दा बढी पैसा र १०० तोलाभन्दा बढी सुनका गरगहनासमेत लिएको आरोप लागेको छ ।
केही समयदेखि पीडितका पैसा लिएर भारतमा लुक्दै आएका काफ्लेलाई सीआईबी टोलीले असार ९ गते कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद लिई ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।


























