सानेपा कहिले जान्छन् गगन ?

सानेपा कहिले जान्छन् गगन ?

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट औपचारिक रूपमा काम सुरु गर्ने तयारीमा छ ।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वसहितको केन्द्रीय समिति बिहीबार वा शुक्रबार केन्द्रीय कार्यालय प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन भए पनि हालसम्म केन्द्रीय कार्यालय प्रवेश हुन सकेको थिएन । निर्वाचन आयोगले माघ २ गते विशेष महाधिवेशनलाई वैधानिकता दिँदै केन्द्रीय कार्यसमिति अद्यावधिक गरिसकेको थियो । तर, नेतृत्वको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालत पुगेपछि नवनिर्वाचित नेतृत्वले पार्टी कार्यालयबाहिरै बसेर निर्णय गर्दै आएको थियो ।

विवाद अदालतमा विचाराधीन रहेकै अवस्थामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटलगायतका महत्त्वपूर्ण निर्णयहरू पनि केन्द्रीय कार्यालय बाहिरबाटै गरिएका थिए । तर मंगलबार सर्वोच्च अदालतले उक्त विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नवनिर्वाचित केन्द्रीय समितिले अब औपचारिक रूपमा पार्टी कार्यालयबाटै काम सुरु गर्ने निर्णय गरेको हो ।

नवनिर्वाचित केन्द्रीय समितिका प्रवक्ता देवराज चालिसेले निर्वाचन आयोगको निर्णयपछि नै कार्यालयबाट काम गर्न कानुनी अवस्था बनेको भए पनि आन्तरिक द्वन्द्व नचर्कियोस् भन्ने उद्देश्यले केही समय बाहिरै बसेर काम गरिएको बताए । “विवाद सर्वोच्च अदालत पुगेपछि पार्टीभित्र थप तनाव नबढोस् भनेर हामीले केन्द्रीय कार्यालयमा प्रवेश नगरेका हौँ,” उनले भने, “तर टिकट वितरण प्रक्रियामा देखिएको सन्तुलनले नै नवनिर्वाचित कार्यसमितिको वैधानिकता व्यवहारमै स्थापित भइसकेको थियो । सर्वोच्चको पछिल्लो आदेशपछि अब सबै अवरोध हटेका छन् ।”

उनका अनुसार केन्द्रीय कार्यालयमा केही कार्यकक्ष व्यवस्थापन र सरसफाइको काम भइरहेको छ । ती तयारी पूरा भएपछि बिहीबार वा शुक्रबार औपचारिक रूपमा सानेपा प्रवेश गर्ने योजना रहेको उनले जानकारी दिए । “सम्भव भए भोलि नै पार्टी कार्यालय प्रवेश गर्छौं, नभए पर्सि निश्चित रूपमा जानेछौं,” चालिसेले भने, “केन्द्रीय कार्यालयबाटै गर्नुपर्ने धेरै काम बाँकी छन् ।”

अब पार्टीका सबै मुख्य गतिविधि केन्द्रीय कार्यालयबाट सञ्चालन हुने उनले बताए । विशेषगरी आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र निर्माण र वितरणलाई पहिलो प्राथमिकतामा राखिएको छ । उम्मेदवारहरूलाई घोषणापत्रसहित आवश्यक प्रचार सामग्री उपलब्ध गराउने, प्राविधिक सहयोग गर्ने तथा संगठनलाई सक्रिय बनाउने काम केन्द्रीय कार्यालयबाटै हुने उनले स्पष्ट पारे ।

“आगामी निर्वाचनमा पार्टीले जनतासामु लैजाने प्रतिबद्धता घोषणापत्रमार्फत स्पष्ट गर्नुपर्छ,” उनले भने, “त्यसका लागि आवश्यक सबै प्रचार सामग्री तयार पार्नु छ । साथै उम्मेदवारहरूलाई प्राविधिक सहयोग, तल्लो तहका संगठनसँग समन्वय र कार्यकर्तासँग नियमित सम्पर्क स्थापित गर्ने कामलाई व्यवस्थित बनाइनेछ ।” प्रवक्ता चालिसेले उम्मेदवार छनोट प्रक्रियामा विगतको तुलनामा असन्तुष्टि कम देखिएको उल्लेख गर्दै बाँकी रहेका असन्तुष्टिहरूलाई पनि संवादमार्फत व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । पार्टी संगठनलाई एकताबद्ध बनाएर चुनावी अभियानमा केन्द्रित हुने लक्ष्यसहित केन्द्रीय समिति अब पूर्ण रूपमा सक्रिय हुने उनको भनाइ छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।