इरान युद्धका ३ राजनीतिक घडीहरू

इरान युद्धका ३ राजनीतिक घडीहरू

ट्रम्प मध्यावधि चुनावसँग जुधिरहेका छन्, इरान धैर्यतामा दाउ लगाइरहेको छ र नेतान्याहूलाई कहिल्यै अन्त्य नहुने युद्ध चाहिएको छ

हरेक द्वन्द्वमा क्यालेन्डर (समय) तोप जत्तिकै निर्णायक हुन्छ । संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिच खाडी क्षेत्रलाई निल्ने गरी भइरहेको युद्ध पनि यसको अपवाद छैन ।

आफ्ना प्राथमिक शत्रुहरूबाहेक यी ३ वटै पात्रहरू समयसँग पनि लडिरहेका छन् । प्रत्येक पात्र फरक–फरक राजनीतिक घडीमा चलिरहेका छन् र अद्वितीय एवं सम्भावित घातक समयसीमाको सामना गरिरहेका छन् ।

वासिङ्टन : मध्यावधि चुनावको घडी

२०२५ जनवरीमा डोनाल्ड ट्रम्प युद्धको संयन्त्रभन्दा सम्झौताको कलालाई प्राथमिकता दिने द्रूत–फायर कूटनीतिको दर्शनसहित सत्तामा फर्किए । उनले स्टिभ विट्कोफलाई ओमान पठाए र ६० दिनको समयसीमा तोके । उनलाई साँच्चै विश्वास थियो कि इरानको नेतृत्वलाई दिइने एक तीव्र र निर्णायक झट्काले केही दिनभित्रै शासन पतन गराउनेछ; यो अपेक्षा सम्भवतः मोसाद र नेतान्याहूले थप बलियो बनाइदिएका थिए तर त्यसो भएन ।

जब छिटो विजय प्राप्त हुन सकेन, अमेरिकाले आफूलाई यस्तो थकाइलाग्दो युद्धमा पायो, जहाँ समय इरानको पक्षमा छ । शिकागो विश्वविद्यालयका प्राध्यापक जोन मियर्सहाइमरले स्पष्ट भने, ‘ट्रम्पले एक ठूलो गल्ती गरे ।’ समस्या संरचनात्मक छः हर्मोज जलसन्धिमार्फत विश्व अर्थतन्त्रमा इरानको ठूलो पकड छ र खाडी राष्ट्रहरू एवं इजरायली वायु रक्षा प्रणालीलाई भेदन गर्ने उसको निरन्तरको क्षमताले गर्दा अमेरिकासँग युद्धबाट बाहिरिने कुनै स्पष्ट रणनीति छैन ।
यसको आन्तरिक राजनीतिक मूल्य पहिले नै गम्भीर भइसकेको छ । अमेरिकी कच्चा तेलको मूल्य युद्ध सुरु हुनुभन्दा अघिल्लो दिनको ६७ डलरबाट बढेर प्रतिब्यारल ९० डलर नाघेको छ । मार्चमा मुद्रास्फीति वार्षिक ३.३ प्रतिशतको दरले बढ्यो, जसमा पेट्रोलको मूल्य २१.२ प्रतिशतले वृद्धि भयो भने उच्च ऊर्जा लागतले उपभोक्ता मूल्य सूचकाङ्कमा भएको मासिक वृद्धिको झण्डै तीन–चौथाइ हिस्सा ओगटेको छ ।
अर्थतन्त्रमा ट्रम्पको अनुमोदन रेटिङ २९ प्रतिशतको सबैभन्दा न्यून विन्दुमा पुगेको छ र ४० प्रतिशत रिपब्लिकनहरूले समेत मुद्रास्फीति र बढ्दो मूल्यवृद्धिको व्यवस्थापनमा उनको असन्तुष्टि जनाएका छन्।

मध्यावधि चुनावभन्दा ७ महिनाअघि राष्ट्रपति एक जोखिमपूर्ण राजनीतिक स्थितिमा छन्, जहाँ उनले सबैभन्दा कम अनुमोदन रेटिङको सामना गरिरहेका छन् र एक अलोकप्रिय युद्धको नेतृत्व गरिरहेका छन् । यदि द्वन्द्व चाँडै अन्त्य भयो भने पनि मतदाताहरू चुनावको मौसमभर पेट्रोल पम्पमा हुने पीडासँग जुधिरहन सक्छन्, जबकि रिपब्लिकनहरूले कांग्रेसमा आफ्नो झिनो बहुमत जोगाउन संघर्ष गरिरहेका छन् ।
विडम्बना के छ भने जसले मूल्य घटाउने वाचा गरेका थिए, उनैले व्यक्तिगत रूपमा यो पुस्ताकै सबैभन्दा ठूलो ऊर्जा संकट निम्त्याएका हुन सक्छन् । एक रिपब्लिकन रणनीतिकारले चेतावनी दिए, ‘जुन मुद्दाहरूले जो बाइडेनलाई पतन गराए, तिनैले अहिले मध्यावधि चुनावमा ट्रम्प र रिपब्लिकनहरूलाई सिध्याउने खतरा बढाइरहेका छन् ।’

तेहरान : बलिरहेको कोइला समात्दै

इरानको गणना पनि समयप्रति उत्तिकै संवेदनशील छ, तर उल्टो ढङ्गले । जहाँ ट्रम्पलाई चाँडो बहिर्गमन चाहिएको छ, त्यहाँ तेहरानको अस्तित्वको रणनीति धैर्यता (सहनशीलता) मा निर्भर छ । २८ फेब्रुअरी २०२६ मा सुरु भएको युद्धले इरानमा ठूलो क्षति पुर्‍यायो, सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य अधिकारीहरूको हत्या, आणविक पूर्वाधारमा आक्रमण र विनाशकारी आर्थिक धक्का । तैपनि शासन पतन भएको छैन ।

मियर्सहाइमरले तर्क गरे कि इरानको विशाल भूभाग र छरिएका सैन्य सम्पत्तिले गर्दा द्रूत आक्रमणमार्फत उसलाई निर्णायक रूपमा कमजोर बनाउन गाह्रो छ र निरन्तर सैन्य कारबाहीले पनि उसको क्षमतालाई ध्वस्त पार्ने सम्भावना कम छ । इरानले मिसाइल प्रणाली र क्षेत्रीय सहयोगीहरूको सञ्जालसहित महत्वपूर्ण प्रतिरोध क्षमता कायम राखेको छ, जसले उसलाई लामो समयसम्मको टकराव धान्न सक्षम बनाउँछ ।

कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री र युद्धका कडा आलोचक जेफ्री साक्सले द्वन्द्व सुरुदेखि नै रणनीतिक रूपमा अदूरदर्शी रहेको तर्क गरे । उनी भन्छन्, ‘ट्रम्पले इरानको आणविक कार्यक्रमलाई सीमित गर्न पहिले नै अवस्थित सम्झौतालाई च्यातिदिए । त्यसपछि उनले ती इरानी धार्मिक नेताको हत्या गरे, जसले लामो समयदेखि आणविक हतियारलाई इस्लामिक कानुन विपरीत घोषणा गरेका थिए र त्यसपछि अहिलेको क्षेत्रीय युद्धको नेतृत्व गरिरहेका छन् ।’

इरानले बलिरहेको कोइला हातमा लिइरहेको छ । पीडा असह्य छ तर हातले छाडेको छैन । तेहरानको रणनीति वासिङ्टनको आन्तरिक घडी समाप्त नभएसम्म क्षति सहिरहने हो । यदि तेलको मूल्य १०० डलर माथि रह्यो र अन्ततः १५० डलर पुग्यो भने बढ्दो ऊर्जा लागतको भारले ट्रम्पको आन्तरिक समर्थन खस्किएसँगै उनको सम्झौता गर्ने शक्ति पनि हराउन सक्छ । साक्सले चेतावनी दिए कि हर्मोज जलसन्धिको निरन्तर बन्दले अभूतपूर्व ऊर्जा संकट निम्त्याउनेछ, किनकि यस जलसन्धिले विश्वभर व्यापार हुने कुल तेलको झण्डै ५ भागको १ भाग र विश्वको ३० प्रतिशत एलएनजी ओगट्छ ।

तेल अवीव : कहिल्यै अन्त्य हुनु नपर्ने युद्ध

इजरायलको समयसापेक्ष चासो वासिङ्टनको ठ्याक्कै विपरीत छ । आन्तरिक कानुनी प्रक्रिया र केही महिनापछि हुने चुनावको सामना गरिरहेका नेतान्याहूसँग द्वन्द्वलाई अनिश्चितकालसम्म जारी राख्ने हरेक प्रयत्नमा छन् । युद्धले आलोचकहरूलाई किनारा लगाउँछ, मतदाताहरूलाई राष्ट्रिय झण्डामुनि गोलबद्ध गर्छ र महत्वपूर्ण कुरा लेबनान र त्यसभन्दा बाहिर आफ्नो दीर्घकालीन महत्वाकांक्षाहरू पूरा गर्न राजनीतिक आवरण सिर्जना गर्छ । अमेरिका–इरान युद्धविराम घोषणा भएपछि पनि नेतान्याहूको कार्यालयले स्पष्ट पारेको थियो, यो युद्धविराममा लेबनान समावेश छैन ।

हाआरेट्जका अनुभवी स्तम्भकार र इजरायलका कठोर आन्तरिक आलोचकमध्येका एक गिदोन लेभीले लामो समयदेखि भन्दै आएका छन् कि सैन्यवाद नेतान्याहूका लागि केवल राजनीतिक औजार मात्र होइन, बरु उनको परिभाषित विश्वदृष्टिकोण हो । लेभीले क्रिस हेजेजसँग कुरा गर्दै कूटनीतिलाई पाखा लगाएर सैन्य समाधानलाई नै प्राथमिकता दिने राजनीतिक संस्कृतितर्फ संकेत गर्दै भने, ‘इजरायलमा युद्ध सधैं पहिलो विकल्प हो, अन्तिम होइन ।’

इजरायलभित्र अवलोकनपछि लेभीले भने, ‘यो युद्धको बारेमा कुनै प्रश्न वा शंकाका लागि ठाउँ छैन ।’ इजरायलमा युद्धको ज्वरोले छोपेको छ र सर्वेक्षणहरूले यहुदी जनतामा यसको व्यापक समर्थन देखाएका छन् ।

पूर्व इजरायली शान्ति वार्ताकार डानियल लेभीले नेतान्याहूको दीर्घकालीन रणनीतिको गम्भीर मूल्याङ्कन प्रदान गरेका छन्‌ः क्षेत्रीय प्रभुत्व र विस्तारित आधिपत्यका लागि दौड । नेतान्याहू प्रयोग गर वा गुमाऊको तर्कमा चलिरहेको देखिन्छ । नेतान्याहू यस कठोर शक्तिको स्थितिलाई सुरक्षित गर्न इच्छुक देखिन्छन्, चाहे यसले अमेरिकाको पतनलाई छिटो बनाओस् र त्यहाँ इजरायलको परम्परागत समर्थन आधारलाई नै किन नखाओस् ।

राजनीतिका ३ घडीहरू फरक दिशामा टिक–टिक गर्दै

द्वन्द्वलाई यति विस्फोटक बनाउने कुरा के हो भने ३ वटै पात्रहरू बाझिएका समय सीमाहरूमा चलिरहेका छन् । ट्रम्पलाई नोभेम्बर अगाडि नै समाधान चाहिएको छ । इरानलाई नोभेम्बरसम्म उनीसामु टिक्नु छ । नेतान्याहूलाई यो युद्ध सकेसम्म लामो समयसम्म वा कम्तीमा लेबनानको नक्सा बदल्न, हिजबुल्लाहलाई निस्तेज पार्न र झण्डा ओढेर चुनावमा जान पुग्ने समयसम्म जारी राख्नु छ ।

मियर्सहाइमरले आफ्नो विशेषता अनुसारको स्पष्टताका साथ नतिजाको मूल्याङ्कन गर्दै तर्क गरे कि इरानले सुरुवाती आक्रमणबाट जोगिएर, शासन पतन हुन नदिएर र वासिङ्टनलाई युद्धबाट बाहिरिने बाटो खोज्न बाध्य पार्ने पर्याप्त सैन्य क्षमता कायम राखेर युद्ध जितिसकेको छ । उनले तर्क गरे कि अन्तिम सम्झौताले सोही वास्तविकतालाई प्रतिबिम्बित गर्नेछ । साक्सले त अझ अगाडि बढेर तर्क गरे कि ट्रम्पले सार्वजनिक रूपमा इरान युद्धविरामका लागि हतारिएको दाबी गरिरहेका भए पनि वास्तवमा ह्वाइट हाउस नै युद्धबाट बाहिरिने बाटोका लागि बढी आतुर देखिएको छ ।

अन्त्यमा समय नै द्वन्द्वको यस्तो मात्र पात्र सावित हुनसक्छ, जसलाई बमबारी गर्न, प्रतिबन्ध लगाउन वा धोका दिन सकिँदैन । ‘भोलिपल्ट बिहान’को संरचना तिनैले आकार दिनेछन्, जसले यो तर्कलाई बुझ्छन् र यसका परिणामहरू सहन सक्ने आन्तरिक राजनीतिक पुँजी राख्छन् । वर्तमान प्रमाणहरूका आधारमा वासिङ्टन मात्र यस्तो राजधानी हो, जहाँ घडी (समय) सकिँदैछ । (अलजजिराबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।