अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुमति दिएको हो । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू-माफियासँग मिलेर बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललिता निवाससम्बन्धी पटक-पटक पत्राचार र निर्णय गरेका थिए ।

बस्न्यातविरुद्ध यसअघि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले २०७८ वैशाख २४ मा उनी ५ लाख धरौटीमा रिहा भएका हुन् ।

विशेष अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा रहेका बन्स्यातको निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको संयुक्त इजलासले उनी थुनामुक्त भएका थिए । 

मुटु रोगी भएको र कोरोना जोखिमका कारण भन्दै उनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश गर्दै भनेको छ,‘मन्त्रिपरिषद्को पूर्व निर्णय र निर्देशन बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सन्दर्भमा सचिवको हैसियतले विभागीय मन्त्री समय फायल पेस गर्नेसम्मको कार्य गरेको देखियो ।’ 

ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । तीमध्ये १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् ।