हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिंगर फेला परेको छ ।
अजिंरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् ।
'अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौं', स्थानीय श्यामबहादुर राईले भने ।
लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जङ्गलमा अजिंगर देखापरेको हो ।
केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको जानकारी दिए ।
'अजिंगर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ', पौडेलले भने ।




























