दूध बिक्री गरेर मासिक एक लाख आम्दानी

दूध बिक्री गरेर मासिक एक लाख आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आएका थिए। विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उनले पुनःरोजगारीका लागि दुबई जाने निधो गरे ।

यसका लागि टिकट समेत तय भइसकेको थियोे । तर कोभिड सङ्क्रमणका कारण अन्तरराष्ट्रिय उडान बन्द भएपछि उनको दुबई जाने सपना पूरा भएन ।

वैदेशिक रोजगाजारीमा जान नसकेपछि उनले जीविकोपार्जनका लागि स्वदेशमै केही गर्ने उपाय खोजे । यसपछि उनले रु ३० हजारमा एउटा गार्ई खरिद गरे । “रोजगारी भएन कोभिडले वैदेशिक रोजगारीमा समेत जान पाइएन त्यसपछि जीविकोपार्जनका लागि केही गर्नुपर्छ भन्ने लाग्यो”, उनले भने, “त्यसबेला दूधको माग बढी थियो त्यही भएर मैले गाई पाल्न सुरु गरे माग धेरै आउन थालेपछि छ महिनापछि अर्को गाई थप गरे ।”

दूध बिक्री गरेरै छ महिनामा गाई किनेको रकम असुल भएपछि उहाँलाई स्वदेशमै पनि दूध बिक्री गरेर आम्दानी गर्न सकिने रहेछ लाग्यो । गाईको दूधभन्दा भैँसीको दूधको माग बढी आउन थालेपछि उनि व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभयो । सुरुआतमा तीन भैँसी खरिद गरेर भैँसीपालन सुरु गरेका उहाँको फार्ममा अहिले सानाठूला गरी ३२ वटा भैँसी छन् । “छ महिनामै गार्ई किनेको रकम असुल भएपछि थप अर्को गाई थपे त्यसपछि पनि दूधको धेरै माग आउन थाल्यो गाईको भन्दा भैँसीको दूध खोज्ने धेरै आए”, पाण्डेयले भने, “त्यसपछि मैले तीन वटा भैँसी ल्याएर भैँसीपालन सुरु गरे दूधको माग धेरै आउन थालेपछि हरेक वर्ष भैँसी थप्दै गए ।” अहिले दुई पटक दूध दिने पाँच वटा र बिहान एक पटक दूध दिने सात वटा भैँसीबाट दैनिक ४० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । उनले भैँसीपालन गरेर तीन जनालाई रोजगारी समेत दिएका छन् ।

उनको काममा उहाँका श्रीमती सरस्वती पाण्डेयले समेत सहयोग गरेका छन् । “अहिलै दैनिक ४० लिटरसम्म दूध बिक्री हुने गरेको छ, प्रतिलिटिर रु ९० का दरले गाउँ घरमै दूध बिक्रि हुने गरेको छ ।” उनले भने, “भैँसीपालनबाट आएको आम्दानीले नै छोराछोरीको पढाइ खर्च र जीविकोपार्जन भइरहेको छ ।” उहाँका छोरा सिभिल इञ्जिनियरिङ र छोरी एमबिबिएसमा अध्ययनरत छन् । “ग्राहकले माग गरे अनुसार घरमै दूध उपलब्ध गराउँछौँ”, उनले भने, “दूध बिक्रीबाटै छोराछोरीको पढाइ खर्च र घरको जोहो गर्दै आएका छौँ ।” दूध मात्रै होइन पाण्डेय दम्पतीले गोबर मलबाट र पाडापाडी बिक्रीबाट समेत आम्दानी गर्दै आएका छन् । “दूध बिक्रिबाट वार्षिक रु १२ लाख आम्दानी हुन्छ, तीन लाखको गोबर मलबाट आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “सबै गरेर वार्षिक रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।” आफ्नै एक बिघा जग्गामा भैँसी फार्म सञ्चालन गरेका उनले भैँसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच बिघा क्षेत्रफल जमिन भाडामा लिएको बताए ।

“अहिलेसम्म फार्ममा मैले रु ६५ लाख लगानी गरिसकेको छु तीन जनालाई रोजगारी दिएको छु, छ बिघा जग्गा प्रतिबिघा वार्षिक रु ३० हजारका दरले भाडामा लिनुभएको छु”, उनले भने, “दुई बिघा जग्गामा घाँस र बाँकी जग्गामा अन्न लगाएको छु ।” भैँसीपालनमा दूधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले स्वदेशमै मेहनत गरे घाटा नहुने उनको भनाइ छ । विदेशकोभन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारीस्तरबाट पर्याप्त सहयोग हुन नसकेको उनले गुनासो गरे । उनले दूध बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको बताउँदै वास्तविक किसानलाई राज्यले सहयोग गर्नसके स्वदेशमै मेहनत गर्नेहरुलाई सहयोग पुग्ने बताए ।