विकास भएको छैन भन्नु भ्रम हो : महामन्त्री शर्मा

विकास भएको छैन भन्नु भ्रम हो : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकामा आपत्ति जनाएका छन् ।

यहाँस्थित बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताए ।

“गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा रु १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्”, उनले भने, “नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने ?”

उनले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गरे । उनले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताए ।

महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गरे । उनले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गरे ।

आज बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए ।