पृथ्वीको उत्पत्ति र पूर्वीय संस्कृतिको विकाससँगै नेपाल तपोभूमिका रूपमा परिचित छ । नेपालमा लाखौँ ऋषिमुनीले कठोर तपस्या गरी ज्ञान प्राप्त गरेका तथ्य धार्मिक ग्रन्थमा वर्णन गरिएका छन् ।
नेपालका विभिन्न तपोभूमि वर्णितस्थानमा ऋषिमुनीका तपस्याले प्राप्त गरेका ज्ञान विश्वमा विज्ञानको रूपमा परिवर्तन भई प्रयोगमा ल्याइएका छन् । तीमध्ये १ खुट्टाले उभिएर मुक्तिनाथमा तपस्या गरिरहेका भगवान् श्री स्वामी नारायणको बालयोगी अवस्था नीलकण्ठ वर्णीको विशेष महत्व छ । प्राचीन योगगुरु पतञ्जलिकृत पुस्तक लगायतमा एउटा खुट्टाको बलमा उभिएर ध्यान गर्ने कठिन विधिको उल्लेख भएको पाइन्छ ।
विक्रम संवत् १८३७ चैत्र ९ गते रामनवमी दिन भारतको अयोध्यामा जन्मिएका भगवान् स्वामी नारायणले तपोभूमि नेपालमा आएर कठोर साधना, अनुष्ठान, जप, तप, ध्यान, सत्सङ्ग गरी बिताएका थिए । मानव कल्याणको संकल्प लिएर गृहत्याग गरी चारधाम हुँदै हिमालय पर्वतमालाको कठिन यात्रा गरेको समयलाई स्वामी नारायणका गाथाकारले निलकण्ठ यात्राको संज्ञा दिएको पाइन्छ । नीलकण्ठ यात्राको सबभन्दा दिव्य समय १ खुट्टाले उभिएर साधना गरेको आकृतिलाई भगवान् स्वामी नारायणका अनुयायीले तीव्रतापूर्वक विशाल मूर्तिहरू बनाएर संसारभर प्रचारप्रसार गरेको पाइन्छ ।
आज विश्वका प्रमुख शहर युरोपको लन्डन, अमेरिकाको न्युयोर्क, अफ्रिकाको जोहानसबर्ग, अरबको अबुधाबी, भारतको गान्धीनगर हुँदै नयाँ दिल्लीमा रहेका भव्य अक्षरधाम मन्दिर परिसरमा एउटा विशेष मूर्तिले सबैको ध्यान केन्द्रित गरेको छ । त्यो तपोमूर्तिलाई विश्वमा अलौकिक मानिएको छ । १ खुट्टाले उभिएर कठोर तपस्या गरिरहेका बाल योगी नीलकण्ठ वर्णीको त्यो स्वरूप वास्तवमा नेपालको पवित्र हिमालय काख विशेषगरी मुक्तिनाथ क्षेत्रको जीवन्त गौरव एवं निशानी हो । बालयोगीले स्वामी नारायणको रूपधारण गर्नुभन्दा पहिले मुस्ताङमा अवस्थित मुक्तिनाथ धाममा लगालग ४ महिनासम्म १ खुट्टाले उभिएर तपस्या गरेको कुरा स्वामी नारायण भगवान्को निलकण्ठ जीवन यात्रा पुस्तकमा वर्णन गरिएको छ ।
बीएपीएस स्वामीनारायण संस्थाले विश्वभर फैलाएको तपोमूर्तिको महिमाले नेपाल र भारतबिचको धार्मिक–सांस्कृतिक सम्बन्धलाई मात्र जोड्दैन, नेपाललाई विश्वकै एक प्रमुख आध्यात्मिक गन्तव्यका रूपमा उभ्याउने सामर्थ्य राख्दछ र नेपाल योगी र तपस्वीहरूको तपोभूमि हो भन्ने पुष्टि गरेको छ । आधुनिक समयमा स्वामीनारायण सम्प्रदायले बडो तेजीका साथ अत्यन्त विशाल र मनोहारी कलाकृतिले सम्पन्न हिन्दू मठमन्दिर र मूर्तिमार्फत हाम्रो प्राचीन वैभवलाई विश्वसामु प्रतिष्ठित गरेको पाइन्छ । त्यहीँ सिलसिलामा मुक्तिनाथमा १ खुट्टाले ध्यान गरिरहेका स्वामी नारायणको मूर्ति अग्रभागमा आउँछ । यो नेपाली मात्रको शान र गौरवको विषय हो । करिब २५० वर्षअघि १२ वर्षको कलिलो उमेरमा घर त्यागेर हिँडेका नीलकण्ठ वर्णी (भगवान् स्वामीनारायण)ले आफ्नो ७ वर्षे भारत वर्षको यात्रामा करिब ३ वर्ष नेपालका विभिन्न भागमा पुगेर तपस्या गर्दै मानव कल्याण सम्बन्धी ज्ञान प्राप्त गर्दै बिताएका थिए । यो सामान्य भ्रमण मात्र थिएन, यो त ज्ञान, योग र कठोर तपस्याको सङ्गम थियो । उनै भगवान् रूपी तपस्वी निलकण्ठ वर्णीको १ खुट्टाले उभिएर तपस्या गरिरहेको १०८ फिट अग्लो मुर्ति बीएपीएस स्वामी नारायण अक्षर धामले २६ मार्च २०२६ का दिन बिहान ६.३० बजे नयाँदिल्लीमा भव्य समारोहबिच उद्घाटन भएको छ ।
प्राचीन हिन्दू वैभवलाई वास्तुमार्फत जस्ताको त्यस्तै उतार गरेर चर्चामा आएको अक्षरधाम मन्दिर विशाल मूर्तिको स्थापनापश्चात् पुनः एकपटक संसारभरका हिन्दू धर्मालम्बीको लागि नयाँ आकर्षणको केन्द्र बन्न पुगेको छ ।
तपस्वी वर्णीको मुक्तिनाथको तपोमूर्तिः स्वामीनारायण सम्प्रदायका लागि मुक्तिनाथ मन्दिरको अगाडि नीलकण्ठ वर्णीले ४ महिनासम्म १ खुट्टाले उभिएर गरेको तपस्या सबैभन्दा ठूलो आस्थाको केन्द्र हो । आज विश्वभरका बीएपीएस मन्दिरमा राखिने तपोमूर्ति यही ऐतिहासिक घटनाको प्रतीक हो । स्वामी नारायणको जीवनमा नेपालको मुक्तिनाथमा उनले एउटा खुट्टाले ध्यान गरेको कुरा उनको जीवन र साधनाको केन्द्रीय महत्वको क्षण हो भन्ने कुरा सिद्ध भएको छ । यसले गर्दा नेपालको मुक्तिनाथ क्षेत्रप्रति स्वामीनारायण सम्प्रदाय र विश्वभर छरिएर रहेका हिन्दूहरूको पुनः एक पटक चासो बढेको छ ।
पर्वत जिल्लाको मोदीबेनीमा उनले तत्कालीन प्रसिद्ध योग ज्ञाता गोपाल योगीसँग १ वर्ष बसेर अष्टसिद्धि र योगका गुण रहस्य सिकेका थिए । यो क्षेत्र आज पनि योग र साधनाका अध्येताका लागि प्रसादी स्थल (पवित्रस्थल) का रूपमा परिचित छ ।
बुटवल र काठमाडौँको ऐतिहासिक सम्बन्ध
बुटवलको फूलबारीमा ४ महिना बसेर राजा मणिमुकुन्द सेनको दरबारमा सत्सङ्ग गराउनु र काठमाडौँमा राजा रणबहादुर शाहको असाध्य गम्भीर रोग निको पार्नुले उनको नेपालसँगको सम्बन्ध कति गहिरो र राजकीयस्तरको थियो भन्ने पुष्टि गर्छ । साथै बुटवल र काठमाडौँको ऐतिहासिक सम्बन्धको नाता यसले स्थापित गरेको पुष्टि भएको छ ।
आज विश्वभर करोडौँको संख्यामा स्वामीनारायण सम्प्रदायका अनुयायी छन् । उनीहरू आफ्नो इष्टदेवताले टेकेको हरेक माटोलाई प्रसादी मान्छन् र जीवनमा कम्तीमा एकपटक ती ठाउँको दर्शन गर्न चाहन्छन् । विशेषगरी गुजराती समुदायमा यो आस्था अझ प्रगाढ बनेको छ । यदि नेपाल सरकारले स्वामीनारायण सर्किटको अवधारणालाई मुर्त रूप दिन सक्ने हो भने यसले नेपालको पर्यटन क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । मुक्तिनाथ, मोदीबेनी, बुटवलको फूलबारी, काठमाडौँ दरबार स्क्वायर र चतराधामलाई जोडेर एउटा स्पष्ट मार्ग तयार पारी नेपालका तपोभूमिलाई धार्मिक पर्यटकीय स्थलमा विकास गर्न सकेको खण्डमा मुलुकले प्रशस्तै आन्तरिक र बाह्य पर्यटकबाट आम्दानी गर्न सक्ने निश्चित छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा स्वामी नारायण सर्किटका बारेमा अध्ययनका लागि नेपाल सरकारले पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गतबाट केही रकम छुट्याएको थियो तर बिचमै चुनाव तय भएपछि कार्यक्रमको बजेट निकासा हुन सकेन ।
नयाँ सरकारले आर्थिक वर्ष ८२/८३ को बजेटमा स्वामीनारायण सर्किटलाई टेवा पुग्ने गरी कार्यक्रम ल्याउने अपेक्षा गर्न सकिन्छ । भारतको नयाँ दिल्लीस्थित अक्षरधाम जाने लाखौँ पर्यटकलाई त्यहाँ रहेको तपोभूमिको वास्तविकस्थल नेपालको मुक्तिनाथ हो भनेर बुझाउन सके, उनीहरूको अर्को गन्तव्य स्वतः नेपाल हुने र वर्णी सम्प्रदायमा आस्था राख्ने विदेशी धार्मिक पर्यटकको नेपालमा ओइरो नै लाग्नेछ र यसले नेपालका धार्मिक पर्यटकीय स्थल र क्षेत्रको अन्तराष्ट्रिय प्रचार र सम्बन्ध जोड्ने प्रचुर सम्भावना देखिन्छ । नेपालका धार्मिक पर्यटकीय क्षेत्रमा आउने धार्मिक पर्यटकबाट नेपालका होटल, यातायात र स्थानीय हस्तकला क्षेत्रमा ठूलो योगदान पुर्याउने निश्चित छ ।
बीएपीएसजस्ता संस्थाले विश्वभर नेपाली भूमिमा गरिएको तपस्यालाई श्रद्धापूर्वक पुजिरहँदा हामीले यसलाई नेपालको राष्ट्रिय गौरवको विषय बनाउन सक्नुपर्छ । नयाँदिल्लीको अक्षरधाममा बनेको नयाँ तपोमूर्तिले वास्तवमा नेपालकै प्रचार गरिरहेको छ । अबको आवश्यकता भनेको नेपाल सरकार र बीएपीएस संस्थाबिच संस्थागत सहकार्य गरी यी प्रसादीस्थलको संरक्षण र प्रवद्र्धन गर्नु हो । नेपाल केवल प्राकृतिक सुन्दरताको देश मात्र होइन, यो भगवान् स्वामीनारायणजस्ता दिव्य पुरुषको साधना भूमि हो । स्वामीनारायण सर्किटको विकासले नेपाललाई विश्व आध्यत्मिक मानचित्रमा अझ चम्किलो बनाउनेछ । भगवान् रूपी तपस्वी नीलकण्ठ वर्णीको विशाल मूर्ति दिल्लीमा अवस्थित अक्षरधाम परिसरमा प्रतिष्ठापित र समुद्घाटन हुनुले त्यो मार्गमा अग्रसर हुन हामीलाई झन् अभिप्रेरित गरेको छ । (लेखक आचार्य आध्यात्मिक अभियन्ता हुन् ।)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




























