देउवा समूहको बैठकमा उठ्यो छुट्टै पार्टी गठनको कुरा

देउवा समूहको बैठकमा उठ्यो छुट्टै पार्टी गठनको कुरा

काठमाडौँ । सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूह बिलखबन्दमा परेको छ। उक्त समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको अवस्थामा सर्वोच्चले शुक्रबार गगनको नेतृत्वलाई नै आधिकारिकताको अन्तिम टुंगो दिएको हो ।

गगनले मान्यता पाएसँगै हाल हङकङमा रहेर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा सक्रिय गराएका देउवाको राजनीतिक करिअरको पनि अब करिब पूर्णविराम लागेको छ। कांग्रेसका नाममा वक्तव्य निकाल्ने कानुनी हैसियत पनि यो समूहले शुक्रबारदेखि गुमाएपछि आइतबार धुम्बाराहीको स्मार्ट प्यालेसमा उपत्यकामा उपलब्ध नेताहरूबीच भेला आयोजना गरेको थियो । राजनीतिक र कानुनी दुवै हैसियत गुमाएर समूहमा परिणत कांग्रेसका निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाएको यो समूहको बैठकमा अलग्गै पार्टी बनाएर जानुपर्ने कुरा उठेको छ।

बैठकमा सहभागी एकजना निवर्तमान केन्द्रीय सदस्यले बताए अनुसार करिब आधा दर्जन नेताहरूले अब अलग्गै पार्टी बनाएर जानुपर्ने विकल्प पनि सुझाएका हुन् । बैठकमा नेताहरू शिवप्रसाद हुमागाईं, कुन्दनराज काफ्ले, वीरबहादुर बलायर र गुरू बरालसहितका नेताहरूले अब नयाँ पार्टीको तयारीबारे पनि सोच्चुपर्ने बताएको ती नेताले उल्लेख गरे। ‘अलग्गै पार्टी बनाएर जानुपर्ने विषयमा केही नेताहरूले धारणा राख्नु भएको छ’, ती नेताले भने, ‘यदि सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई सम्मानजनक हैसियत दिने अवस्था नरहे त्यहाँ बसिरहनु उचित नहुने उहाँहरूको ठहर थियो ।’

उक्त बैठकमा आफ्नो धारणा राखेका निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले अब सर्वोच्चले फैसला दिएको अवस्थामा सम्मानजनक एकता हुनुपर्ने बताए । ‘पार्टी एकता सम्मानजनक हुनुपर्छ। कसैलाई पाखा र कसैलाई काखा गरेर हुँदैन । विशेष महाधवेशनमा नजानेहरूको पनि सम्मानजनक अवस्था बनाउनुपर्छ’, उनले बैठकमा आफ्ना भनाइबारे भने, ‘हामी स्वतन्त्रका लागि लडेको पार्टीका नेता–कार्यकर्ता हौँ। स्वाभिमानका लागि लडेका हौँ । हाम्रो प्राथमिकता पार्टी एकता हो । एकताका लागि सबैभन्दा लचक सानेपा हुनुपर्छ ।’काफ्लेले यो भेला नेताहरूको सुझाव सुन्न आयोजित गरिएको पनि बताए । ‘सर्वोच्चको फैसलासँगै पार्टीमा नयाँ अवस्था विकास भएको छ।

त्यसैले उपत्यकामा रहेकाहरूको सुझाव सुन्न भेला गरिएको हो’, उनले भने, ‘यो भेलामा बोल्नेहरूले विशेष महाधिवेशनमा नगएका साथीहरू अलमलमा परेकाले प्रष्ट पार्ने कोसिस भएको छ। अब यसैगरी तलैसम्म प्रष्ट पार्नु पर्छ भन्ने धारणा बनेको छ।’नेता काफ्लेले आफूले नयाँ पार्टी खोल्नुपर्ने भनेर नसुझाएको जिकिर गरे । तर उनले सम्मानजनक स्थान र स्भाविमानमा तलमाथि हुने अवस्थामा सबै विकल्प खोज्नुपर्ने सुझावा आफूले नेतृत्वलाई दिएको भने बताए। उता अर्का नेता नैनसिंह महरले सर्वोच्चको फैसलासँगै विकसित नयाँ परिस्थितिमा सम्मानजनक एकताका लागि पहल हुनुपर्ने बताए । उनले त्यसका लागि वर्तमान पार्टी नेतृत्व जिम्मेवार हुनुपर्नेमा पनि जोड दिएका छन् ।

जानकारीअनुसार आइतबार दिउँसो धारणा राख्ने क्रममा नेताहरू वीरबहादुर बलायर, कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरू बरालले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा राखेका हुन्। यीमध्ये बलायर र बराल देउवा र काफ्ले र हुमागाईं नेता कृष्णप्रसाद सिटौलानिकट छन्।

‘अहिले निवर्तमान पदाधिकारीहरूले धारणा राखिसक्नुभएको छैन, निवर्तमान केन्द्रीय सदस्यहरू र केही नेताले बोल्नुभयो, बोलेकामध्ये ४ जना नेताहरूले छुट्टै पार्टी गठन गरेर जानुपर्ने कुरा पनि राख्नुभएको छ,’ ती निवर्तमान केन्द्रीय सदस्यले भने, ‘स्वाभिमानको अवस्था पार्टीभित्र नहुने हो भने बेग्लै पार्टी खोल्नुपर्छ भन्ने उहाँहरूको भनाइ थियो।’ पार्टीभित्र नेता तथा कार्यकर्ताहरूको योग्यता र प्रतिष्ठा हुनुपर्ने विषय उनीहरूले उठाएका थिए। हामीले यसबारे के कुरा उठेको हो भने निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेसँग पनि बुझेका छौं।

उनले छलफलको निष्कर्ष निकाल्ने बेला भइनसकेको बताए। आफू पार्टी एकताकै पक्षधर रहेको काफ्लेको भनाइ छ। ‘पार्टी जिम्मेवार हुनुपर्छ, १५ औं महाधिवेशनमा पारदर्शीता र निष्पक्षता हुनुपर्छ, सबैलाई अट्ने पार्टी बनाउनुपर्छ भन्ने कुरा मैले राखेको हुँ,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यले पनि मत नहालेको अवस्था छ। ६०० क्रियाशील भएका ठाउँमा २ सय मत आएको अवस्था छ, जनताले कांग्रेसलाई किन ठूलो पार्टी बनाउन चाहेनन्, हामीले बुझ्नुपर्छ, खोज्नुपर्छ।

यसका लागि सानेपा जिम्मेवार रहनुपर्छ भन्ने कुरा मैले राखेको हुँ।’ छुट्टै पार्टी बनाएर जानुपर्ने धारणा राखेको सन्दर्भमा सोधिएको प्रश्नमा काफ्लेले त्यस्तो कुरा नभएको दाबी गरे। ‘केही साथीहरूले बोल्ने क्रममा पार्टीका ऐतिहासिक घटनाक्रम उल्लेख गर्दै स्वाभिमान (योग्यता र प्रतिष्ठा) पार्टीभित्र नहुने अवस्थामा पार्टी फुटेको हुन्छ भन्ने कुरा त राख्नुभयो,’ उनले भने, ‘अहिले नै फुटिहाल्नुपर्छ भन्ने त छैन। देशभरका हाम्रा साथीभाइहरूलाई हाम्रो एजेन्डामा सुरक्षित महसुस गराउनुपर्छ भन्ने कुरा त भयो। पार्टी फुटाएरै जानुपर्छ भन्ने त छैन। म त पार्टी एकताकै पक्षमा छु।’

अर्का निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले पनि कुराकानी गर्दै आफूले पार्टी विभाजन गरेर जानुपर्ने कुरा नगरेको दाबी गरेका छन्। ‘बिपीको आदर्शमा नहिँड्दा आज यो दुर्घटनामा पुगियो, समीक्षा गरेर पुनः बिपीकै आदर्शमा जाऔं भन्ने कुरा मैले राखेको थिएँ,’ उनले भने।

सर्वोच्चको फैसलालाई देउवा–खड्का पक्षले स्वीकार गर्ने बताएको छ। तर केही विषयहरूमा आफूहरूको फरक मत भने कायमै रहेको जनाएको छ। संस्थापन पक्षले भने ६१ केन्द्रीय सदस्य अझै मनोनीत गर्न बाँकी रहेकोले सबैलाई समेटेर १५ औं महाधिवेशनमा जाने वातावरण बनाउने तयारी गरिरहेको जनाएको छ। महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गराइहाल्न आग्रह गरेका छन्।‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने,‘यसमा कोही अलमलमा नपरौं, अद्यावधिक गरिहालौं।’

सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उल्लेख गर्दै यसलाई जित–हारको विषय नबनाउन आग्रह गरेका छन्। ‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ।

पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ उनले भनेका छन्, ‘१५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौं।’

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।