काठमाडौँ । इंग्लिस एफए कपको रोमाञ्चक प्रतिस्पर्धामा सेमिफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलका सबै खेल सकिएसँगै लिड्स युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी र साउथह्याम्पटन अन्तिम चारमा प्रवेश गरेका छन्।
क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० को फराकिलो अन्तरले हराउँदै आफ्नो दाबेदारी बलियो बनायो। चेल्सीले भने लिग वान टोली पोर्ट भेलेमाथि ७–० को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
यता, साउथह्याम्पटनले प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २–१ ले पराजित गर्दै सबैलाई चकित पार्यो। साउथह्याम्पटनको यो जित प्रतियोगिताकै सबैभन्दा ठूलो अपसेटमध्ये एक मानिएको छ।
सबैभन्दा नाटकीय खेल भने लिड्स युनाइटेड र वेस्ट ह्याम युनाइटेडबीच भयो। निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल २–२ को बराबरीमा सकिएको थियो। खेलमा लिड्सले अधिकांश समय नियन्त्रण राख्दै अग्रता लिएको थियो, तर अन्तिम क्षणमा वेस्ट ह्यामले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा पुर्यायो।
पेनाल्टी सुटआउटमा भने लिड्सका खेलाडीहरू शान्त र आत्मविश्वासी देखिए। गोलरक्षक लुकास पेरीले महत्वपूर्ण दुई प्रहार बचाउँदै टोलीलाई ४–२ को जित दिलाए। यससँगै लिड्सले ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा स्थान बनाएको हो।
इतिहास हेर्दा लिड्सले सन् १९७२ मा आर्सनललाई १–० ले हराउँदै एफए कप उपाधि जितेको थियो। त्यसपछि लामो समयसम्म टोलीले यस प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्न सकेको थिएन। अब सेमिफाइनलमा चेल्सी र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको भिडन्तले सन् १९७० को चर्चित फाइनलको झल्को दिनेछ, जहाँ चेल्सी विजयी भएको थियो।
अर्कोतर्फ, साविक उपविजेता म्यानचेस्टर सिटीले साउथह्याम्पटनको सामना गर्नेछ। कागजमा सिटी बलियो देखिए पनि साउथह्याम्पटनले आर्सनललाई हराएको प्रदर्शनले खेल निकै प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ।
सेमिफाइनलका दुवै खेलहरू लन्डनस्थित वेम्बली स्टेडियममा अप्रिल २५ र २६ मा खेलाइनेछन्। अब सबैको ध्यान वेम्बलीमा हुने यी दुई निर्णायक खेलतर्फ केन्द्रित भएको छ, जहाँबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























